मौलिक चिनारी र अद्भूत परिचय बोकेका पर्व नै इन्द्रजात्रा : उपराष्ट्रपति

हिमाल प्रेस १ असोज २०८१ ६:५०
8
SHARES
मौलिक चिनारी र अद्भूत परिचय बोकेका पर्व नै इन्द्रजात्रा : उपराष्ट्रपति

काठमाडौँ- उपराष्ट्रपति रामसहायप्रसाद यादवले जात्रा तथा पर्व र यसमा गरिने धार्मिक, सांस्कृतिक अनुष्ठानले मानिसमा आध्यात्मिक चिन्तन र भावको विकास गर्ने उल्लेख गरेका छन्।

कुमारी इन्द्रजात्रा, विश्वकर्मा पूजा र अनन्त चतुर्दशी (अनवत) पर्वका अवसरमा शुभकामना व्यक्त गर्दै उपराष्ट्रपति यादवले चाडपर्वले परस्पर मेलमिलाप, भ्रातृत्व, प्रेमभाव, सदाचार, भाइचारा, सद्भाव र सम्मानको मार्गमा डोर्याउन सहयोग पुग्ने बताए।

उपराष्ट्रपति यादवले मौलिक चिनारी र अद्भूत परिचय बोकेका यी जात्रा, पर्व, भूगोल, भेग, क्षेत्र र समुदायगत रूपमा फरकफरक नामले मनाइए पनि यसको महत्वपूर्ण उद्देश्य पारस्परिक भ्रातृत्वभाव, प्रेमभाव, स्नेहभाव, सौहार्दभाव, अपनत्वभाव र सहयोगभावलाई उत्प्रेरित गर्नु रहेको उल्लेख गरे । यसले मानिसको मन, वाणी र कर्ममा पवित्रता तथा शुद्धता सञ्चार गर्दै देशलाई एकताको सूत्रमा बाँध्दै राष्ट्रिय एकता, अखण्डता, सार्वभौमिकता र राष्ट्रियतालाई बलियो बनाउन सघाउ पुग्ने विश्वासका साथ उनले सबैमा शुभकामना व्यक्त गरेका छन्।

काठमाडौँ उपत्यकालगायत देशको विभिन्न भूभागमा अत्यन्तै हर्षोल्लास र धुमधामका साथ मनाइने इन्द्रजात्रामा वर्षा र सहकालका देवता इन्द्र, जीवित देवी कुमारी, गणेश, भैरव, देवी लक्ष्मी र भगवान् विष्णु आदिको पूजाअर्चना गर्ने परम्परा छ।

यस अवसरमा ठड्याउने लिंगो र विश्वमै अनौठो परम्परा जीवित कुमारीको पूजा गर्नु नेपाली संस्कृतिको मौलिक पहिचान हो।

त्यस्तै, प्रत्येक वर्षको कन्या संक्रान्तिका दिन शिल्पकार, कालीगढ, उद्योगपति तथा सवारीसाधनका मालिकलगायतले निर्माण, वास्तुकला, औजार÷यन्त्र, सृजन, शिल्पकला, मूर्तिकला र सवारीसाधनका देवताका रूपमा भगवान विश्वकर्माको पूजा (विश्वकर्मा जयन्ती) पनि भक्तिभाव र श्रद्धाभावका साथ मनाउने परम्परा छ।

आजकै तिथिमा तराई-मधेशतिर देवी लक्ष्मी र भगवान् विष्णुको धार्मिक विधिविधानअनुसार पूजाअर्चना गर्दै अनन्त चतुर्दशी (अनवत) बनाउने मौलिक परम्परा छ। यस अवसरमा श्रद्धालुले भगवान् विष्णुको अनन्त रूपको प्रतीक, १४ वटा गाँठो हालिएको विशेष खालको अनन्त सूत्र (डोरो)पाखुरामा बाँध्ने चलन छ।

प्रकाशित: १ असोज २०८१ ६:५०

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

twenty − eight =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast