बाख्रापालन : ८५ हजार लगानी, तीन लाख बढी आम्दानी

हिमाल प्रेस २८ भदौ २०८१ ८:४४
120
SHARES
बाख्रापालन : ८५ हजार लगानी, तीन लाख बढी आम्दानी

स्याङ्जा- हरिनास गाउँपालिका–५ समन्तेका ३८ वर्षीय रेसबहादुर क्षेत्रीले गाउँमा बाख्रापालक किसानको परिचय बनाएका छन्। २०७४ सालमा वडासदस्य भएर जनताको सेवा गरेका क्षेत्रीले त्यसको तीन वर्ष पहिले विके पशुपक्षी तथा कृषि फार्म दर्ता गरेर बाख्रापालन सुरु गरेका हुन्।

परम्परागत रूपमा बाबुबाजेले गरेको बाख्रापालनलाई विस्थापित गरेर आधुनिक बाख्रापालन गर्ने सोचसहित क्षेत्रीले बाख्रा र खोरमा ८५ हजार लगानी गरेर व्यवसाय सुरु गरेको बताए। ‘घरमा भएका खरी जातका आठवटा पाठापाठी र खरिद गरेर ल्याएका बोयर जातका एक–एकवटा माउ बाख्राबाट व्यवसाय सुरु गरेको थिएँ’,उनले भने,‘अहिले फार्ममा ७३ वटा बाख्रा छन्।’

किसान क्षेत्रीले बाख्रापालन व्यवसायबाट वार्षिक रूपमा तीन लाख ५० हजार आम्दानी गर्दै आएको बताए। उनले १६ रोपनी जग्गामा केराखेती पनि गरेका छन्। ‘केराखेतीबाट वार्षिक एक लाख ५० हजारसम्म आम्दानी गर्दै आएको छु। यो वर्ष दुई सय ९२ केराका बोट हावाले ढाल्यो’,उनले भने।

अरूलाई यो गर्नुपर्छ भन्नुभन्दा आफैँले गरेर देखाउनुपर्छ भन्ने सोचसहित बाख्रा पालेको उनले बताए। उनको फार्ममा खोर निर्माण, घाँस रोपण, चरन क्षेत्र व्यवस्थापनलगायत संरचनामा अहिलेसम्म १५ लाख लगानी भएको छ। उनको फार्ममा ८५ प्रतिशतका बोयर बाख्रा छन्। ‘अहिले व्यवसाय राम्रो हुँदै गएको छ। उत्पादन गर्न सके बजारको समस्या छैन। खसीबोका पोखरा पठाउँछु’, किसान क्षेत्रीले भने।

यहाँका प्रत्येक घरमा १० देखि २५ वटासम्म बाख्रा छन्। एक घरको गोठालो जान नपाउँदा अर्को घरकाले सहयोग गर्ने चलन छ। ‘व्यवसायबाट सन्तुष्ट छु। बाख्रापालन र केराखेतीबाट मासिक एक लाख ५० हजार सम्म आम्दानी हुने गरेको छ’, उनले भने,‘मालिक बन्छु भन्ने सोच राखियो भने प्रगति हुँदैन। आफू सक्रिय भएर व्यवसाय थाल्ने हो भने सफल बन्न सकिन्छ,विदेश जानुपर्दैन।’

सरकारबाट अनुदान नलिएको उनले बताए। नगद नभई दानापानीमा अनुदान दिनुपर्नेमा उनको जोड छ। क्षेत्रीले बाख्रा र केरा बेचर बुटवल, सुनवल, चितवन, मिर्दी भिमाद सडकमा घडेरी किनेको बताए।

उनले गाउँमा गाह्रोसाह्रो पर्नेलाई दिएको ७५ लाखसम्म पुगेको बताए। गाउँपालिकाका कृषि अधिकृत हरिप्रसाद गैह्रेले पालिकाले किसानलाई निःशुल्क उपचार तथा औषधी वितरण, परामर्श, घाँसका बीउ वितरणलगायत सहयोग गर्दै आएको बताए।

‘गत वर्ष दुईवटा बाख्रा पकेट क्षेत्र कार्यक्रम सञ्चालन थिए। त्यतिबेला २८ वटा शुद्ध बोयर बीउ बोका वितरण गरियो। तीन सयभन्दा धेरै कुखुराका चल्ला पनि वितरण गरियो। यो वर्ष पनि किसानका मागका आधारमा काम गर्छौँ,’उनले भने।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

ten + three =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast