लुम्बिनी- देशभरका इन्जिनियरहरूको छाता संगठन इन्जिनियर्स एसोसिएसन (एनईए) को अध्यक्षमा रुपन्देहीका इन्जिनियर नन्दलाल बन्जाडेले उम्मेदवारी दिएका छन्। भदौ २८ गते हुने ३४ औँ कार्यकारिणी समितिको निर्वाचनमा अध्यक्षमा बन्जाडेले उम्मेद्वारी दिएका हुन्। अध्यक्षमा बन्जाडेसहित ६ जनाको उम्मेदवारी परेको निर्वाचन समितिका संयोजक डा. पवनकुमार भट्टराईले बताए।
निर्वाचन समितिका अनुसार अध्यक्षमा बन्जाडेसहित राजेन्द्रप्रसाद हाडा, रामेश्वरप्रसाद कलवार, विष्णुप्रसाद पाण्डे, दीपक श्रेष्ठ र सुभासचन्द्र बरालको उम्मेदवारी परेको हो। इन्जिनियरहरूका बीचमा साझाजस्तै रहेका बन्जाडेले इन्जिनियरहरूको हक र राष्ट्र निर्माणलाई मुख्य चुनावी एजेन्डा बनाएका छन्।
बन्जाडे एकीकृत समाजवादी सम्बद्ध समाजवादी इन्जिनियर्स एसोसिएसन नेपाल (सिन) का तर्फबाट मैदान उत्रेका हुन्। बन्जाडेले इन्जिनियरहरूको संस्थालाई सकभर सहमतीय नेतृत्वका लागि पहल गरिए पनि सम्भव नभएपछि निर्वाचनको मैदानमा उत्रिएको बताए।
२०७५ सालमा बाग्मती प्रदेशको पहिलो अध्यक्षमा निर्वाचित भइसकेका बन्जाडेले केन्द्रीय कार्यकारिणी अध्यक्ष बनेर इन्जिनियर्स एसोसिएसनको नेतृत्व गर्न मैदानमा होमिएका हुन्। यसअघि बागमतीको अध्यक्षमा पराजित सुभाषचन्द्र बराल बन्जाडेका अहिलेका पनि मुख्य प्रतिस्पर्धी हुन्। उनी नेपाली कांग्रेस निकट सिडेनका हुन्। ६२ वर्षअघि २०१९ सालमा स्थापित नेपाल इन्जिनियर्स एसोसिएसनमा सिडेनको पकड रहँदै आएको छ।
इन्जिनियरिङ कलेजबाट स्नातक (बीई) गरेर इन्जिनियरिङ परिषद्बाट लाइसेन्स प्राप्त इन्जिनियर यस संस्थाको सदस्य हुन पाउने प्रावधान छ। २८ भदौमा हुने चुनावमा काठमाडौँ, बिर्तामोड, विराटनगर, इटहरी, जनकपुर, वीरगन्ज, हेटौँडा, भरतपुर, पोखरा, बुटवल, दाङ, नेपालगन्ज, सुर्खेत र धनगढी गरी १४ स्थानमा मतदान केन्द्र रहनेछन्। निर्वाचन समितिले प्रकाशन गरेको केन्द्रीय प्रारम्भिक सूचीअनुसार अध्यक्षमा ६, उपाध्यक्षमा ७, महासचिवमा ६ तथा उपमहासचिव, कोषाध्यक्ष र सहकोषाध्यक्ष पदमा ७/७ जनाले उम्मेदवारी दिएका छन्। १२ सदस्य पदका लागि ७४ जनाले उम्मेदवारी दिएका छन्।