अर्थोपेडिक अस्पताललाई शिक्षण संस्थामा रूपान्तरण गर्न सुझाव

हिमाल प्रेस ३० साउन २०८१ ९:३५ | Wednesday, August 14, 2024
अर्थोपेडिक अस्पताललाई शिक्षण संस्थामा रूपान्तरण गर्न सुझाव

काठमाडौँ- हाडजोर्नीका बिरामीको उपचार गर्दै आएको जोरपाटीस्थित नेपाल अपांग संघ नेपाल अर्थोपेडिक अस्पतालले आफ्नो स्थापनाको २६ वर्ष पूरा गरेको छ।

विशेषगरी अनाथ, असहाय तथा अपांगता भएका व्यक्तिको सेवामा समर्पित रहनेगरी खगेन्द्र नवजीवन केन्द्रअन्तर्गत रोटरी इन्टरनेशनलको सहकार्यमा यो अस्पताल सन् १९९८ मा स्थापना भएको हो।अस्पतालको वार्षिकोत्सवका अवसरमा अस्पतालमा उपचारारत बिरामीलाई फलफूल वितरण गर्नुका साथै निःशुल्क बहिरंग सेवा (ओपिडी) उपलब्ध गराएको थियो।

त्यस अवसरमा मंगलबार अस्पतालमा आयोजित कार्यक्रममा गोकर्णेश्वर नगरपालिकाका प्रमुख दीपककुमार रिसालले कुशल व्यवस्थापन र उत्कृष्ट उपचार सेवा दिँदै आएको यस अस्पताललाई एक अनुकरणीय स्वास्थ्य केन्द्रका रूपमा यसको क्षमता बढाउन नगरपालिकाले पूर्ण सहयोग गर्ने प्रतिबद्धता व्यक्त गरे।

उनले शिक्षा र स्वास्थ्य नगरपालिकाको प्रमुख प्राथमिकता रहेको जानकारी गराउँदै नगरक्षेत्रका ४२ हजार नागरिकलाई स्वास्थ्य बिमामा समेटेको जानकारी दिए।

अस्पतालका मेडिकल निर्देशक डा कैलाशकुमार भण्डारीले अस्पतालबाट उपलब्ध सेवाका बारेमा जानकारी दिँदै नागरिकलाई अझ सहज र सुलभ सेवा उपलब्ध गराउन अस्पताल लागिरहेको बताए। उनले भने, ‘स्वास्थ्य बिमा कार्यक्रममा अस्पताललाई सूचीकृृत गराउन सकेका छौँ। अस्पतालले प्रत्येक वर्ष कम्तीमा चार पटकसम्म दुर्गम भेगमा औषधोपचार अभावमा रहेका नागरिकलाई हाडजोर्नी र नशाको शल्यक्रिया निःशुल्क उपलब्ध गराउनेगरी स्वास्थ्य शिविर सञ्चालन गर्दै आएको छ।’

निर्देशक भण्डारीका अनुसार एक सय शय्या रहेको उक्त अस्पतालमा हाल २० जना विशेषज्ञ चिकित्सक सेवारत छन्। अस्पताल सञ्चालक समिति सदस्य डा प्रमोदकुमार श्रेष्ठले यस अस्पताललाई अर्थोपेडिक उपचारसम्बन्धी शिक्षण संस्थाका रूपमा विकास गर्नुपर्ने बताए।

अस्पतालका अध्यक्ष साम्देन लामा, गोकर्णेशवर नगरपालिका-६ का वडाध्यक्ष नवराज लामा, वडा नं ५ का वडाध्यक्ष नारायणबहादुर सुवेदी, कर्मचारी युनियनका अध्यक्ष आलोक झाले अस्पताललाई शिक्षण संस्थामा रूपान्तरण गर्न सुझाएका थिए।

प्रकाशित: ३० साउन २०८१ ९:३५ | Wednesday, August 14, 2024

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

thirteen + 8 =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast