इटहरीमा ब्लेडले घाँटी चिरेर डेढ वर्षीया बालिकाको हत्या

हिमाल प्रेस २६ साउन २०८१ १८:१४
24
SHARES
इटहरीमा ब्लेडले घाँटी चिरेर डेढ वर्षीया बालिकाको हत्या

इटहरी- इटहरीमा डेढ वर्षीया बालिकाको हत्या भएको छ। शनिबार दिउँसो ३ः४० बजेतिर इटहरी ५ पचरुखीस्थित एक नाबालिकाको क्रूर हत्या भएको हो।

स्थानीय मनहरी ढकालको घरमा कोठा भाडामा बस्दै आएका ३० वर्षीय सालिग्राम लुइँटेलले बालिकाको हत्या गरेको इलाका प्रहरी कार्यालय इटहरीले पुष्टि गरेको छ।

सालिग्रामले आफ्नै भतिजी डेढ वर्षीया आइन्सु लुइँटेलको घाँटी र टाउकोमा ब्लेडले चिरेर हत्या गेको इटहरी प्रहरीले जनाएको छ। ‘आफ्नै भतिजीको हत्या गरेको खबर आएपछि हामी घटनास्थलमा पुगेका थियौँ,’ एक प्रहरी अधिकृतले भने, ‘प्रहरीलाई ३ः४० बजेतिर मात्रै खबर आएको थियो। हामीले प्रारम्भिक अनुसन्धान गर्दा ती व्यक्ति मृतक बालिकाका आफ्नै काका रहेछन्।’

घटनास्थलबाट ब्लेडसहित सालिग्रामलाई प्रहरीले नियन्त्रणमा लिएको जनाएको छ। सालिग्राम केही वर्षअघिदेखि डिप्रेसनको औषधि सेवन गरिरहेको र मानसिक रोगीजस्तो रहेको प्रहरीको प्रारम्भिक अनुसन्धानबाट खुलेको छ।

‘उनी (सालिग्राम)दुई, तीन वर्षअघि घरको छतबाट हाम्फालेर ढाड पनि भाँचिएको प्रारम्भिक अनुसन्धानबाट खुलेको छ,’ ती प्रहरी अधिकृतले भने, ‘अहिले डिप्रेसनको औषधि सेवन गरेको पनि खुलेको छ। भर्खरैको घटना भएका कारण थप अनुसन्धान गर्न पाएका छैनौँ।’

उनका अनुसार मृतक बालिकाका बुबा नवराज लुइँटेल वैदेशिक रोजगारीमा छन्। यहाँ बुबाआमासहित, भाउजू र भतिजीसँग बस्दै आएका सालिग्रामको साथबाट प्रहरीले तत्काल ब्लेड बरामद गरेको थियो। ‘तत्कालको परिस्थिति हेर्दा ब्लेडले नै घाँटी र टाउकोमा काटेको देखिन्छ,’ ती प्रहरी भन्छन्, ‘घटनास्थलबाट पनि ब्लेड नै बरामद गरिएका कारण तत्काल ब्लेडकै कारण घटना भएको हो भन्न सकिन्छ। थप अनुसन्धान भने जारी छ।’

मृतक बालिकाको शव पोस्टमार्टमका लागि धरानस्थित वीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान पठाएर घटनाबारे थप अनुसन्धान सुरू गरिएको इटहरी प्रहरीले जनाएको छ। प्रहरीले विभिन्न कोणबाट अनुसन्धान जारी राखेको जनाएको छ।

प्रकाशित: २६ साउन २०८१ १८:१४

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

seventeen − six =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast