वर्षाले सिंहदरबारसमेत प्रभावित, कांग्रेस-एमाले संसदीय दलको कार्यालय डुबानमा

हिमाल प्रेस २२ साउन २०८१ १२:३७
32
SHARES
वर्षाले सिंहदरबारसमेत प्रभावित, कांग्रेस-एमाले संसदीय दलको कार्यालय डुबानमा वर्षाका कारण सिंहदरबार परिसरमा रहेका नेपाली काग्रेसको संसदीय दलको कार्यालयमा जमेको पानी। तस्बिर : रासस

काठमाडौँ– लगातारको वर्षाका कारण मुलुकको प्रमुख प्रशासनिक केन्द्र सिंहदरबारसमेत प्रभावित भएको छ। निरन्तरको वर्षाले काठमाडौँ उपत्यका भएर बग्ने खोला, नदीमा पानीको सतह बढ्नाका साथै किनार र आसपासका बस्ती प्रभावित भएका छन्। वर्षाले मुख्य सडक जलमग्न हुँदा सडक यातायात प्रभावित बनेको छ।

सिंहदरबार परिसरमा रहेका कतिपय मन्त्रालयको प्रवेशद्वार अगाडि पानी जम्दा असहज भएको छभने नेपाली कांग्रेस र नेपाल कम्युनिस्ट पार्टी (एमाले) को संसदीय दलको कार्यालय परिसर जलमग्न भएको छ।

रामशाहपथस्थित राष्ट्रिय जीवन बिमा कम्पनी लिमिटेडको कार्यालय भवनमा सेवाग्राही प्रवेश गर्न नमिल्नेगरी पानी जमेको छ। पानी जमेपछि कार्यालयले पानी तान्ने मोटर प्रयोग गरी धमाधम निकास सहज बनाइरहेको छ। अविरल वर्षाले कामकाजी कर्मचारी र सर्वसाधारण बढी मर्कामा परेका हुन्।

वर्षाले उपत्यकाको ‘ट्राफिक’ पनि अस्तव्यस्त बनेको छ। कार्यालय समयमा सवारीसाधन एक घण्टासम्म लामो जाममा परेका छन्। लगातारको वर्षाले बिहान १० देखि ११ बजेसम्म काठमाडौँका अधिकांश सडकमा ट्राफिक जाम भएको काठमाडौँ उपत्यका ट्राफिक प्रहरी कार्यालयका प्रवक्ता वरिष्ठ प्रहरी उपरीक्षक विश्वराज खड्काले जानकारी दिए।

करिडोरका सडकमा पानी जमेको, भद्रकाली, पुतलीसडक, पद्मोदय, माइतीघर र कुपण्डोल क्षेत्रको सडकमा पानी जमेकाले सवारी आवागमनमा अवरोध भएको ट्राफिक प्रहरीले जनाएको छ।

लगातारको झरीले काठमाडौँका विभिन्न स्थानका सडक जलमग्न भए पनि सर्वसाधारण र सवारीसाधनलाई आवतजावतमा कठिनाइ भएको थियो। काठमाडौँका कलंकी, कालीमाटी, त्रिपुरेश्वर, पुतलीसडक, जमल, थापाथली, माइतीघरमण्डला, बबरमहल, नयाँबानेश्वर, तीनकुने कोटेश्वर तथा ललितपुरका बालकुमारी, ग्वार्को, सातदोबाटो, कुपण्डोल, पुल्चोकलगायत क्षेत्रमा अत्यधिक जाम भएको ट्राफिक प्रहरीले जनाएको छ। रासस

प्रकाशित: २२ साउन २०८१ १२:३७

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

3 × five =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast