पनौती संग्रहालयले तान्यो ३ हजार पाँच सय विदेशी पर्यटक

हिमाल प्रेस २२ साउन २०८१ ११:०२
6
SHARES
पनौती संग्रहालयले तान्यो  ३ हजार पाँच सय विदेशी पर्यटक

काभ्रे- ऐतिहासिक नगर काभ्रेपलाञ्चोकको पनौतीमा स्थापित संग्रहालयमा एक वर्षमा तीन हजार पाँच सय विदेशी पर्यटकले अवलोकन गरेका छन्। संग्रहालय पनौतीस्थित इन्द्रेश्वर मन्दिर परिसरमा रहेकाले यहाँ आउने धेरैजसो बाहिरी पर्यटक यस संग्रहालयमा अवलोकन गर्ने जनाइएको छ।

ऐतिहासिक सहर पनौतीस्थित इन्द्रेश्वर महादेव मन्दिर परिसरमा स्थापित यो संग्रहालय जिल्लाकै पहिलो र एकमात्र संग्रहालय हो। संग्रहालय प्रमुख राजेन्द्र महाजूका अनुसार बितेको आर्थिक वर्षमा उक्त संख्या केही वर्षदेखिकै उच्च हो।‘यसको महत्व बुझेका सबैजसो पर्यटक यहाँ आउँछन्, केही वर्षदेखि यहाँ आउनेको संख्या वृद्धि भइरहेको छ’, महाजूले भने। उनका अनुसार अघिल्लो वर्ष करिब चार हजार स्वेदेशी–विदेशी पर्यटकले संग्रहालय अवलोकन गरेका थिए।

संग्रहालयमा अवलोकन गर्न विभिन्न स्थानबाट बर्सेनि सयौँको संख्या विद्यार्थी पनि आउने गरेको महाजूले बताए। संग्रहालयमा अवलोकनका लागि विदेशी र स्वेदेशी पर्यटक तथा विद्यार्थीलाई भने फरकफरक शुल्क तोकिएको छ। करिब १५ वर्षअघि धार्मिक, ऐतिहासिक र सांस्कृतिक महत्व झल्काउने सामग्री एवं पहिचानका भण्डारका रूपमा संग्रहालय स्थापना गरिएको थियो।

विसं २०६७ मा पनौती नगर कार्यालयले सञ्चालनमा ल्याएको यस संग्रहालयमा जिल्ला तथा विशेषगरी पनौतीका पुराना र ऐतिहासिक वस्तुको संरक्षण गरिएको हो। संग्रहालयमा पनौतीको विकास, यहाँका पुराना गतिविधि, मठमन्दिरलगायत उपलब्ध शिलालेखको अवलोकन गर्न पाइन्छ। महाजूका अनुसार पुराना सिक्का, कागजी नोट, स्थानीय रूपमा प्रयोग भएका घरायसी वस्तु पनि सङ्ग्रहालयमा राखिएका छन्। स्थानीयको सक्रियतामा नगर कार्यालयसँग सहकार्य गरी सञ्चालनमा ल्याएको सङ्ग्रहालयमा मल्लकालीन, शाहकालीन समयका मूर्ति, काष्ठकलाका नमूना, विभिन्न पहिरन तथा पुराना हातहतियार पनि यहाँ अवलोकन गर्न सकिने महाजूले बताए।

धार्मिक, ऐतिहासिक र पर्यटकीय गन्तव्य एवं पवित्र धार्मिकस्थल भएकाले यहाँको महत्व बढेको पाइन्छ। यहाँ स्मारक समिति बनाएर संग्रहालय सञ्चालनमा ल्याइएको थियो।

प्रकाशित: २२ साउन २०८१ ११:०२

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

1 × five =