काठमाडौँ- कञ्चनपुरको दोधारा चाँदनी र भीमदत्तनगर क्षेत्रमा गएको असार २३ र २४ गते ‘क्लाउड ब्रस्ट’ अर्थात् आरीघोप्टे वर्षा भएको निष्कर्ष निकालेको छ। जल तथा मौसम विज्ञान विभागका मौसमविद्को टोलीले स्थलगत अध्ययन, तीन ठाउँका वर्षा मापन केन्द्रका उपकरण जाँच र त्यो दिनको वायुमण्डलको समेत अवस्था विश्लेषण गरी ‘तराई क्लाउड ब्रस्ट’ भएको निष्कर्ष निकालेको हो।
गएको असार २३ गते २४ घण्टा अवधिमा दोधाराको स्वचालित वर्षामापन केन्द्रमा ६ सय २४ मिलिमिटर कुल वर्षा रेकर्ड भएको थियो। यो जल तथा मौसम विज्ञान विभागको विक्रम संवत् २००३ देखि उपलब्ध तथ्यांक अनुसार नेपालमा अहिलेसम्म मापन गरिएकोमध्ये सर्वाधिक वर्षा हो।
जल तथा मौसम विज्ञान विभागका महानिर्देशक डा।जगदिश्वर कर्माचार्यकाअनुसार हनुमाननगर केन्द्रमा एक घण्टामा १ सय २ मिलिमिटर वर्षा मापन भएको छ। सामान्यतया क्लाउड ब्रस्ट भन्नाले एक घण्टामा १ सय मिलिमिटरसम्म वर्षा भएको मानिन्छ। त्यो दिन मनसुन न्यून चापीय रेखा सरदर स्थानमा रहेको भएता पनि सुदूरपश्चिम प्रदेशका दक्षिण–पश्चिमी भूभाग आसपासको तल्लो वायुमण्डलमा न्यूनचापीय प्रणाली विकसित भएको थियो।
साथै उपल्लो वायुमण्डलमा पनि पश्चिमी वायुको न्यूनचापीय रेखा सक्रिय थियो ।