लुम्बिनी- अग्रज पत्रकार चेतन पन्तको निधन भएको छ। २ बर्षदेखि क्यान्सर रोगबाट ग्रसित पन्तको आइतबार राती निवासमै निधन भएको हो। सिद्धार्थनगर नगरपालिका–६ दुर्गाकलोनीस्थित आफ्नै निवासमा ६६ वर्षको उमेरमा निधन भएको भाई शम्भु पन्तले जानकारी दिए।
लामो समयदेखि पत्रकारिता क्षेत्रमा क्रियाशिल पन्तले बुद्ध जन्मस्थल लुम्बिनीको प्रचारप्रसार र पर्यटन प्रवद्र्धनलाई केन्द्रमा राखेर काम गरेका थिए।
समाचार, लेखनसँगै देश–विदेशमा गएर शान्तिका अग्रदुत गौतमबुद्धको जन्मस्थल लुम्बिनीको विषयमा जानकारी गराउने, फोटो/भिडियो प्रदर्शनी गर्ने, पर्यटकलाई लुम्बिनी/नेपाल भ्रमणको निम्तो दिनेलगायतका कार्यहरु मार्फत पर्यटन प्रर्वद्धनमा समेत पन्त सक्रिय थिए।
भारत र नेपालका विभिन्न अस्पतालमा उपचार गराउदै क्यान्सर विरुद्ध लडेका उनको पछिल्लो समय अवस्था निकै नाजुक बनेको थियो।पन्तको निधनल रुपन्देहीको पत्रकारिता क्षेत्रमा अपूर्व क्षती पुगेको नेपाल पत्रकार महासंघ रुपन्देहीका अध्यक्ष रामराज पोख्रेलले बताए।
पन्तको निधनमा पत्रकार, उद्योगी, व्यवसायी, नेता, सामाजिक अभियान्ता, विद्यार्थी लगायतले दुःख व्यक्त गरेका छन्। सिद्धार्थनगर नगरपालिकाका मेयर ईश्तियाक अहमद खाँले पत्रकार पन्तको निधनप्रति दुःख व्यक्त गर्दै उनको निधनले सिद्धार्थनगर नगरपालिकासँगै देशलाई अपूरणीय क्षति पुगेको बताए। स्वर्गीय पन्तका श्रीमती र दुई छोरा छन्।