काठमाडौँ- काठमाडौं उपत्यकामा लक्ष्यभन्दा बढी बालबालिकालाई पोलियो रोगविरुद्धको खोप लगाइएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले गत साउन ९ गतेदेखि साउन १५ गतेसम्म सञ्चालन गरेको खोप अभियानमा लक्ष्यभन्दा बढी खोप लगाएको हो।
स्वास्थ्य सेवा विभागका बालस्वास्थ्य तथा खोप शाखा प्रमुख डा। अभियान गौतमले दुई लाख ९७ हजार ९२५ बालबालिकालाई खोप लगाएको जानकारी दिए। उनले १०४ प्रतिशत बालबालिकालाई खोप लगाएको बताए ।
उपत्यकामा दुई लाख ७९ हजार ६८१ बालबालिकालाई पोलियो रोगविरुद्धको खोप खुवाउने लक्ष्य लिएको थियो । उनका अनुसार काठमाडौं जिल्लामा दुई लाख तीन हजार ८९८ जना, ललितपुरमा ५२ हजार २३२ र भक्तपुरमा ४१ हजार ७९५ जनालाई पोलियो रोगविरुद्धको खोप लगाएका छन् । यसपटक मुखबाट खुवाइने ‘ओपीभी’ खोप खुवाइएको थियो ।
मन्त्रालयले टुकुचा खोला र वाग्मती नदीको संगमस्थल टेकुमा पोलियो जीवाणु भेटिएपछि काठमाडौं उपत्यकामा खोप अभियान सञ्चालन गरिएको थियो ।
पोलियो खोप जन्मेदेखि पाँच वर्ष मुनिका बालबालिकालाई स्वास्थ्यकर्मी र महिला सामुदायिक स्वास्थ्य स्वमंसेविकाले घरघर पुगेर पोलियो विरुद्धको खोप खुवाएका थिए ।
पोलियो रोग पोलियो भाइरसबाट हुने संक्रामक रोग हो । पोलियो लागेपछि ज्वरो आउने, पखाला लाग्ने, जीउ दुख्ने, थकाइ महसुस गर्ने र रोग गम्भीर हुन थाल्यो भने पक्षघात हुने र मुत्युसम्म हुने गर्दछ । पोलियो रोग दूषित खाना र पानीको माध्यमबाट एक व्यक्तिबाट अर्को व्यक्तिमा सर्ने गर्दछ । सन् २०१४ पोलियोमुक्त भएको नेपाल सन् २०२६ सम्म पोलियो उन्मूलन गर्ने सरकारको लक्ष्य रहेको छ । रासस