काठमाडौँ– काठमाडौँ उपत्यकामा लक्ष्यभन्दा बढी बालबालिकालाई पोलियो रोग विरुद्धको खोप लगाइएको छ। स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले गत साउन ९ गतेदेखि साउन १५ गतेसम्म सञ्चालन गरेको खोप अभियानमा लक्ष्यभन्दा बढी खोप लगाएको हो।
स्वास्थ्य सेवा विभागका बालस्वास्थ्य तथा खोप शाखा प्रमुख डा. अभियान गौतमले दुई लाख ९७ हजार नौ सय २५ बालबालिकालाई खोप लगाएको जानकारी दिएका छन्। उनले १०४ प्रतिशत बालबालिकालाई खोप लगाएको बताए।
उपत्यकामा दुई लाख ७९ हजार छ सय ८१ बालबालिकालाई पोलियो रोग विरुद्धको खोप खुवाउने लक्ष्य लिइएको थियो। उहाँका अनुसार काठमाडौँ जिल्लामा दुई लाख तीन हजार आठ सय ९८ जना, ललितपुरमा ५२ हजार दुई सय ३२ र भक्तपुरमा ४१ हजार सात सय ९५ जनालाई पोलियो रोग विरुद्धको खोप लगाएको छ।। यसपटक मुखबाट खुवाइने ‘ओपिभि’ खोप खुवाइएको थियो।
मन्त्रालयले टुकुचा खोला र बागमती नदीको सङ्गमस्थल टेकुमा पोलियो जीवाणु भेटिएपछि काठमाडौँ उपत्यकामा खोप अभियान सञ्चालन गरेको थियो।
जन्मेदेखि पाँच वर्ष मुनिका बालबालिकालाई स्वास्थ्यकर्मी र महिला सामुदायिक स्वास्थ्य स्वयंसेविकाले घरघर पुगेर पोलियो विरुद्धको खोप खुवाएका थिए।
पोलियो रोग पोलियो भाइरसबाट हुने सङ्क्रामक रोग हो। पोलियो लागेपछि ज्वरो आउने, पखाला लाग्ने, जीउ दुख्ने, थकाइ महसुस गर्ने र रोग गम्भीर हुन थाल्यो भने पक्षघात हुने र मुत्युसम्म हुने गर्दछ। पोलियो रोग दूषित खाना र पानीको माध्यमबाट एक व्यक्तिबाट अर्को व्यक्तिमा सर्ने गर्दछ। सन् २०१४ पोलियोमुक्त भएको नेपाल सन् २०२६ सम्म पोलियो उन्मूलन गर्ने सरकारको लक्ष्य रहेको छ।