बुटवलका मुख्य स्थानमा २३ वटा हाइमास्ट लाइट जडान

हिमाल प्रेस १५ साउन २०८१ २०:०२
46
SHARES
बुटवलका मुख्य स्थानमा २३ वटा हाइमास्ट लाइट जडान

लुम्बिनी- बुटवलमा उच्च क्षमताका हाइमास्ट लाइट जडान भएका छन्। बुटवलका २३ वटा चोकचौराहामा १० मिटर, १२.५ मिटर र १६ मिटरका लाइट जडान भएका हुन्।

हाइमास्ट लाइटको मंगलबार बुटवल उपमहानगरपालिकाका प्रमुख खेलराज पाण्डेयले नयाँ बसपार्कमा रहेको हाइमास्ट लाइटको स्विच अन गरेर उद्घाटन गरे।

लाइटको उद्घाटन गर्दै पाण्डेयले बुटवललाई उज्यालो सहरका रूपमा विकसित गर्दै रात्रिकालीन बजार सञ्चालन गर्ने योजनाले मूर्तरूप लिँदै गरेको बताए। उनले बुटवलका मुख्य सडक, चोक, चौराहा र सार्वजनिक स्थलहरूमा रातिमा समेत सुरक्षित हुने गरी उच्च क्षमताका लाइटहरू जडान गरेको बताए।

उनले हाइमास्ट लाइट जडान गर्न बाँकी रहेका स्थानहरूमा चालु आर्थिक वर्षमा जडान गर्ने गरी बजेटको व्यवस्था गरेको बताए। प्रमुख पाण्डेयका अनुसार बुटवललाई उज्यालो सहर, हरियालीयुक्त सहर, सफा सहरका रूपमा स्थापित गर्नका लागि काम भइरहेको छ।

मुख्य सडकका डिभाइडर र दायाँबायाँ बिरुवा रोप्ने, अन्य क्षेत्रहरुमा हरियाली बनाउने र सरसफाइ अभियान सञ्चालन भइरहेका उनले बताए।

बुटवलका योगीकुटी चोक, कालिका चोक, बसपार्क, अस्पताल लाइन, पूरानो बसपार्क, लक्ष्मीनगर गेट, बीटीआइ चोक, राजमार्ग चौराहा, जितगढी किल्ला र गोलपार्कमा १६ मिटरका १२ वटा लाइट जडान भएका छन्।

त्यस्तै वीपी चोक, जेसीज चोक, तीनकुने चोक, टक्सार चोक, देवीनगर चौपारी चोक, देवशिद्ध चोक, बधशाला क्षेत्रमा साढे १२ मिटरका ७ वटा लाइट जडान भएका छन्।

यस्तै गरी नेपाल टेलिकम अगाडि, उपमहानगरपालिका गेट, होराइजन चोक र बुद्धनगर स्वास्थ्य चौकीनजिकै १० मिटरका ४ वटा लाइट जडान भएको बुटवल उपमहानगरपालिकाका सहरी पूर्वाधार महाशाखा प्रमुख सुमन श्रेष्ठले बताए।

उनका अनुसार टेण्डरमार्फत २ करोड ७ लाख ९३ हजार ७ सय ३५ रुपैयाँमा नेपाल पावर सोलुसन प्रालि हेटौडासँग २०८० माघ १२ गते हाइमास्ट लाइट जडानका लागि ठेक्का सम्झौता भई फागुन २ गते शिलान्यास भएको थियो।

प्रकाशित: १५ साउन २०८१ २०:०२

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

10 + 17 =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast