सरकारी कार्यालयले नै तिर्दैनन् खानेपानी महसुल

हिमाल प्रेस १५ साउन २०८१ ६:५९
2
SHARE
सरकारी कार्यालयले नै तिर्दैनन् खानेपानी महसुल

काठमाडौँ- नेपाल खानेपानी संस्थान शाखा कार्यालय वीरगञ्जको आर्थिक वर्ष २०८०/८१ असार मसान्तसम्मको सरकारी कार्यालय तथा निजी ग्राहकको खानेपानी महसुलको बक्यौता रकम १२ करोड ३३ लाख ५७ हजार ४१८ पुगेको छ ।

सरकारी कार्यालय तथा निजी घरमा संस्थानको खानेपानी लाइन जोडे पनि नियमित रूपमा खानेपानीको महसुल भुक्तानी नगर्दा बक्यौता रकम बर्सेनि वृद्धि हुँदै आइरहेको छ । बक्यौता रकममध्ये सरकारी निकायले तिर्नुपर्ने बक्यौता रकम ३ करोड ९८ लाख ९७ हजार सात सय ४८ रहेको छ भने निजी घरमा खानेपानी प्रयोग गरेबापतको तिर्नुपर्ने बक्यौता रकम ८ करोड ३४ लाख ५९ हजार छ सय ७० रकम बक्यौता कायमै छ ।

कार्यालयका प्रमुख मन्दिप श्रेष्ठले वर्षौंदेखि सरकारी तथा निजी घरमा खानेपानीको लाइन जोडेर नियमित खानेपानीको महशुल भुक्तानी नगर्दा बक्यौता रकम बढेको बताए । ‘सरकारी तथा निजी घरले खानेपानी उपयोग गरे पनि बक्यौता सवा १२ करोडभन्दा बढी छु, उनले भने, ‘निजी मात्र होइन, वीरगञ्जका ४५ भन्दा धेरै सरकारी निकायका खानेपानीको बक्यौता पनि ४ करोड हाराहारीमा छ ।’

कार्यालयका अनुसार नारायणी अस्पतालको मात्रै बक्यौता १ करोड ८४ लाख ७८ हजार नौ सय ७० छ । वीरगञ्ज महानगरपालिका र सो मातहतका वडा कार्यालयको बक्यौता १ करोडभन्दा बढी छ । ठाकुरराम क्याम्पसको ४९ लाख ६१ हजार चार सय १७ छ ।

जिल्ला प्रशासन कार्यालय पर्साको पनि बक्यौता ३५ लाख १० हजार चार सय ४७ छ । कार्यालय प्रमुख श्रेष्ठले खानेपानीको बिलअनुसारको महशुल तीन महिनाभित्र भुक्तानी नगरेको खण्डमा ५० प्रतिशत जरिवाना लाग्ने प्रावधान रहेको बताए । ‘खानेपानीको महशुल नतिर्ने निजी तथा सरकारी निकायलाई ताकेता गर्दै आइरहेका छौँ । तर अहिलेसम्म अपेक्षाकृत रूपमा बक्यौता रकम असुलउपर गर्न सकिरहेका छैनौँ,’ उनले भने ।

कार्यालयका अनुसार आव २०८०र ८१ को असार मसान्तसम्मको अवधिमा यो कार्यालय मातहत ११ हजार एक सय ३९ घरपरिवारमा खानेपानीको लाइन जडान भएको छ । कार्यालयले गत आवमा सानाठूला गरेर २१ किलोमिटर लम्बाइको पाइप लाइन विस्तार गरेको जनाएको छ ।

प्रकाशित: १५ साउन २०८१ ६:५९

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

nine − one =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast