राजमार्गको पहिरो रोक्न त्रिपालको सहारा

हिमाल प्रेस ८ साउन २०८१ १७:११ | Tuesday, July 23, 2024
राजमार्गको पहिरो रोक्न त्रिपालको सहारा

बाजुरा- अविरल वर्षाका कारण जिल्लाका विभिन्न स्थानमा पहिरो जाँदा सडक अवरुद्ध छन्। लगातारको वर्षाले पटक–पटक अवरुद्ध भएको साँफे–मार्तडी राजमार्गमा पर्ने बडीमालिका नगरपालिका–९ कारागार नजिकैको पहिरो रोक्न त्रिपालको सहारा लिइएको छ।

पहिरो नरोकिएपछि जिल्ला प्रशासन कार्यालयले सोमबार सुरक्षाकर्मी लगाएर पहिरो गएको ठाउँमा त्रिपाल बिछ्याएको हो। अविरल वर्षाका कारण भिरालो जमिनमा पहिरो नरोकिएपछि जिल्ला प्रशासन र नेपाल रेडक्रस सोसाइटीको सहयोगमा पहिरोमाथि त्रिपाल विछ्याइएको हो।

लगातारको वर्षाका कारण पहिरोले सडक अवरुद्ध भएपछि कुनै विकल्प नहुँदा त्रिपाल बिछ्याइएको प्रमुख जिल्ला अधिकारी भीमकान्त पौडेलले बताए। उनका अनुसार सडक डिजिभन कार्यालय साँफेबगरलाई पहिरो गएको ठाउँमा पर्खाल निर्माण गर्न अनुरोध गरेपनि वर्षाका कारण सम्भव नभएपछि त्रिपाल हालेर सडक जोगाउने कार्य गरिएको हो।

सदरमुकामकै सडक बन्द हुँदा समस्या हुने भएकाले त्रिपालको सहारा लिएको प्रजिअ पौडेलले बताए। सुदूरपश्चिम प्रदेशको गौरवको आयोजनाका रुपमा निर्माणाधीन उत्तरी चार पालिका जोड्ने मार्तडी– कोल्टी सडक पनि तीन सातादेखि अवरुद्ध छ।

बाउली र अनाइ खोलामा पानीको प्रवाह बढेको र मार्तडी कोल्टी सडकको जिल्लीमा पहिरो जाँदा अवरुद्ध भएको उक्त सडक खुलाउन सम्बन्धित निकायले प्रयास नगरेको स्थानीयको गुनासो छ।

प्रकाशित: ८ साउन २०८१ १७:११ | Tuesday, July 23, 2024

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

4 × five =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast