काठमाडौँ- पूर्वराज्यमन्त्री रामचन्द्र रायको धारिलो हतियार प्रयोग गरेर हत्या भएको प्रहरीले जनाएको छ।
रायको मध्यरातमा हत्या भएको प्रहरीको प्रारम्भिक अनुसन्धानले देखाएको छ। रायको एक तले पक्की घरको सुत्ने कोठाभित्र सुतेको अवस्थामा हत्या गरिएको थियो। ‘टाउकोको बायाँपट्टी धारिलो हतियार प्रहार गरेर हत्या भएको देखिन्छ,’ सर्लाहीका डीएसपी दीपक श्रेष्ठले हिमाल प्रेससँग भने,‘सुत्ने खाटको छेउमा उतानो परेको अवस्थामा हामीले भेटेका हौँ।’
राय राप्रपाका नेता पनि हुन्। तर उनी पछिल्लो समय राजनीतिमा खास सक्रिय थिएनन्। उनी हिजो मात्रै सोही स्थान पुगेका थिए। तर त्यहाँ एकैरात पनि बिताउन पाएनन्।
रायको हत्याबारे अहिले अनुसन्धान भइरहेको श्रेष्ठले जानकारी दिए। ‘घटना घटेको खबर आउन साथ हामी यस चौकीबाट परिचालन भएका हौ।’ उनको हत्या गर्ने व्यक्तिहरू फरार छन्। उनीहरूको खोजीकार्य भइरहेको प्रहरीले जनाएको छ। अहिले मधेश प्रदेश प्रहरी कार्यालय जनकपुरका कार्यालय प्रमुख विनोद पोखरेल टोली घटनास्थलमा पुगेको छ।