आज बीपीको ४२औँ स्मृति दिवस

हिमाल प्रेस ६ साउन २०८१ ७:५६ | Sunday, July 21, 2024
आज बीपीको ४२औँ स्मृति दिवस

काठमाडौँ- विश्वेश्वरप्रसाद (बीपी) कोइरालाको ४२औँ स्मृति दिवस आज विभिन्न कार्यक्रम गरी मनाइँदैछ। दिवसका अवसरमा नेपाली कांग्रेसले ‘नेपाली कांग्रेस केन्द्रीय पुस्तकालय’ को शुभारम्भ गर्दैछ। पार्टी सभापति शेरबहादुर देउवाले केन्द्रीय कार्यालय सानेपामा बिहान ९ बजे पुस्तकालय उद्घाटन गर्नेछन्।

नेपालमा प्रजातन्त्रको स्थापनाका लागि कठोर संघर्ष गरेका कोइरालाको विसं २०३९ साउन ६ गते निधन भएको थियो । कोइरालाको जन्म १९७१ भदौ २४ गते भएको हो। विसं २०१५ को संसदीय निर्वाचनपछि २०१६ जेठमा उनी पहिलो निर्वाचित प्रधानमन्त्री बनेका थिए।

प्रजातान्त्रिक समाजवादका चिन्तक एवं प्रयोक्ता कोइरालाले नेपालमा राष्ट्रियता, प्रजातन्त्र र समाजवाद स्थापनाका लागि राजनीतिक नेतृत्व प्रदान गरेका थिए । प्रधानमन्त्रीत्वकालमा उनले बिर्ता उन्मूलन र ‘जग्गा जोत्नेको हुनुपर्छ’ भन्ने भूमिसुधार कार्यक्रम अगाडि बढाएका थिए ।

विसं २०१७ पुस १ गते तत्कालीन शाही नेपाली सेनाको शक्तिका भरमा जननिर्वाचित सरकार अपदस्त गरिएपछि कोइरालालगायत नेतालाई सिंहदरबारमा बन्दी बनाइएको थियो। एक महिनापछि सेनाको सुन्दरीजल आर्सनलका प्रमुखको सरकारी निवासलाई वरिपरि पर्खालले घेरेर नेता कोइराला, संसद्का प्रथम सभामुख कृष्णप्रसाद भट्टराई, नेता गणेशमान सिंहलगायत मन्त्रीलाई सुन्दरीजल बन्दीगृहमा बन्दी बनाइएको थियो।

बीपीले स्वतन्त्र रूपमा चिन्तन, आयाम, परम्परा र शैली दिएर साहित्यका माध्यमबाट नेपाली वाङ्मयलाई शिखरमा पुर्याउन पनि उनले योगदान गरेका थिए। नेपाली साहित्यमा मनोवैज्ञानिक यथार्थवादी धाराका प्रवर्तक कोइरालाका डेढ दर्जन कृति प्रकाशित छन् ।

उनका ‘तीन घुम्ती’, ‘मोदी आइन’, ‘हिटलर र यहुदी’, ‘सुम्निमा’, ‘नरेन्द्रदाइ’, एवं ‘बाबु, आमा र छोरा’ गरी ६ उपन्यास प्रकाशित छन् । त्यसैगरी दुई कथा संग्रह ‘श्वेत भैरवी’ र ‘दोषी चश्मा’ तथा हरिप्रसाद शर्माको सम्पादनमा ‘विश्वेश्वरप्रसाद कोइरालाका कथा र कविता’ प्रकाशित छन् ।

प्रकाशित: ६ साउन २०८१ ७:५६ | Sunday, July 21, 2024

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

1 × 5 =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast