काठमाडौँ- पूर्वप्रधानमन्त्री लोकेन्द्रबहादुर चन्द केही दिनयता अस्पताल भर्ना भएका छन्। शरीरमा समस्या देखिएसँगै उनलाई वीर अस्पतालको नयाँ भवनको तेस्रो तलामा चिकित्सकको परामर्शमा राखिएको छ। उनलाई ज्वरो, पिसाबमा संक्रमण तथा श्वाश्वप्रश्वासमा समस्या देखिएपछि साउन ३ गते दिउँसो अस्पताल भर्ना गरिएको हो।
‘एक्कासि समस्या देखिएपछि अस्पताल भर्ना गरियो। तर त्यति धेरै समस्या भएको होइन,’ चन्दका सहयोगी केशव चन्दले हिमाल प्रेससँग भने,‘पिसावमै समस्या देखिएपछि अस्पताल पुर्याइएको हो। धेरै समस्या भएको होइन।’ पछिल्लो समय चन्दको स्वास्थ्यमा सुधार देखिएको छ।
स्वास्थ्यमा उल्लेख्य सुधार भइरहेको वीर अस्पतालका निर्देशक डा सन्तोष पौडेलले जानकारी दिए। पौडेलले स्वास्थ्य सुधारोन्मुख भए पनि अझै केही दिन चिकित्सकको निगरानीमा उपचार गर्नुपर्ने बताए।
उनले हाल सो अस्पतालको विशिष्ट व्यक्ति उपचार कक्षमा उपचार गराइरहेका छन्। चन्द बिरामी नै भए पनि आउनेजाने सुभेक्ष्युकसँग बोल्न सक्ने भएका छन्। ‘त्यस्तो मान्छे नचिन्ने, होस गुमेको छैन।’ केशव भन्छन्,‘आराम भइरहेको छ। सबै ठिक हुँदैछ।’ चन्द पछिल्लो समय लोकन्थलीस्थित आफ्नै निवासमा रहेका थिए। उनमा दीर्घ रोग नभए पनि बुढ्यौलीका कारण आकस्मिक बाहेक बाहिर हिँडडुल गर्न सकेका थिएनन्।
विसं १९९६ सालमा जन्मेका चन्द नेपालमा ४ पटक प्रधानमन्त्री बने। राजाको प्रत्यक्ष शासन रहँदा चन्दले पटकपटक देशको नेतृत्व गर्ने मौका पाए। राप्रपाका संस्थापक अध्यक्ष समेत रहेका चन्द साहित्यकार समेत हुन्। उनले विसर्जन (कथासङ्ग्रह) नामक ग्रन्थका लागि विसं २०५४ को मदन पुरस्कार प्राप्त गरेका थिए। अहिले पनि एउटा उपन्यास उनी लेख्दैछन्।