काठमाडौँ- त्रिशुली नदीमा दुर्घटना भई बेपत्ता भएको दुई यात्रुसहितको बस खोजीकार्यको लागि सशस्त्र प्रहरी बल नेपालका ९० जनाको सुरक्षा फौज परिचालन गरिएको छ। सशस्त्र प्रहरी बल नेपाल विपद् व्यवस्थापन तालिम शिक्षालय कुरिनटारबाट ११ जना गोताखोरसहित ४५ जनाको टोलीले सोनार क्यामरा प्रयोग गरी घटनास्थलदेखि नारायणी नदिसम्म खोजीकार्य गरिएको छ।
त्यस्तै अर्को सर्च टोलीले यसअघि प्रयोग भएका विभिन्न डिभाईसहरूको प्रयोग गरी घटनास्थलदेखी १ किलोमिटर तल तथा (भरतपुर महानगरपालिका–१६ स्थित देवघाटदेखि ज्ञानेश्वर सामुदायिक वनसम्म) खोजीकार्य गर्नेछ।
त्यसैगरी नं १७ गण चितवनबाट ११ जना विपद् व्यवस्थापन तालिम प्राप्तसहित ४५ जनाको सुरक्षा फौज घटनास्थलदेखि ४० किलोमिटर तल गोलाघाटसम्म र्याफ्टिङ बोट र नदि किनारामा पैदलगस्ती गर्दै खोजीकार्यको लागि परिचालन भएको छ।
अविरल वर्षाको कारण नदीमा आएको भेल र धमिलो पानी गर्दा सोनार क्यामरा र अन्य डिभाईसको प्रयोग गर्दा समेत बेपत्ताहरुको खोजीकार्य गर्न असहज भएको सशस्त्र प्रहरीका सह प्रवक्ता शैलेन्द्र थापाले जानकारी दिए। असार २९ गते बेपत्ता भएको बस तथा यात्रुहरुको खोजीको लागि खटिएको सुरक्षा फौजले ३ वटा शव फेला पारेको थियो। खोजीकार्यमा नेपाली सेना र नेपाल प्रहरी समेत परिचालित रहेका छन्।
वीरगन्जबाट काठमाडौँतर्फ आउँदै गरेको बागमती प्रदेश ०३–००६ ख १५१६ नम्बरको डिलक्स र काठमाडौंबाट गौरतर्फ जाँदै गरेको बाग्मती प्रदेश ०३–०११ ख २५९५ नम्बरको बस भरतपुर महानगरपपालिका–२९ सिमलताल असार २८ गते बिहान त्रिशुली नदीमा खसेको थियो।