प्रचण्डलाई ज्ञानेन्द्र शाहीले भने : जातजातिलाई भड्काएर आफ्नो रोटी नसेक्नुस्

हिमाल प्रेस २८ असार २०८१ १६:३५ | Friday, July 12, 2024
प्रचण्डलाई ज्ञानेन्द्र शाहीले भने : जातजातिलाई भड्काएर आफ्नो रोटी नसेक्नुस् ज्ञानेन्द्र शाही

काठमाडौँ- राष्ट्रिय प्रजातन्त्र पार्टीका प्रमुख सचेतक ज्ञानबहादुर शाहीले जातजातिलाई भड्काएर आफ्नो रोटी सेक्ने काम नगर्न प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डलाई चेतावनी दिएका छन्। आज शुक्रबार प्रधानमन्त्रीले विश्वासको मत मागेको प्रस्तावमाथि छलफल गर्नेक्रममा शाहीले यस्तो चेतावनी दिएका हुन्।

शुक्रबारको प्रतिनिधि सभा बैठकमा बोल्दै उनले दलितका छोराछोरी राजाका पालामा केही पनि थिएनन् भन्ने गलत भाष्य निर्माण नगर्न पनि आग्रह गरे। उनले हिरालाल विश्वकर्मा राजाकै पालामा शिक्षामन्त्री बनेको पनि बताए।

‘यो रोष्ट्रममा उभिएर काम कम कुरा ठूला गर्नु भएन। त्यसले हामी जस्ता नयाँ सांसदलाई पनि गलत भाष्य निर्माण हुन्छ। दलितका छोराछोरी राजाका पालामा केही पनि थिएनन् भन्नुभयो,’ उनले भने, ‘हिरालाल विश्वकर्मा भन्ने सुन्नुभएको छ। यो देशको शिक्षामन्त्री हुनुहुन्थ्यो राजाको पालामा। जातीय छुवाछुतबिरुद्धको कानुन अहिले बनेको हो?’

शाहीले देशमा नेपालीबाहेक कुनै जात नभएको भन्दै प्रधानमन्त्रीको अभिव्यक्तिमाथि आपत्ति जनाएका थिए। आजको बैठकमा प्रधानमन्त्री पुष्पकमल दाहालले संविधान संशोधनको नाममा कांग्रेस-एमालेले समावेशी, महिला, दलित, जनजातीको अधिकार खोस्न लागेको बताएका थिए। प्रधानमन्त्रीको यो अभिव्यक्तिमा शाहीले आपत्ति जनाए।

‘राजा महेन्द्रको पालामा २०२० तिर यो कानुन बनाइएको हो। तपाईंहरुलाई खुला छ, राजनीति गर्नुस्। चुनाव हुन्छ, चुनावमा जानुस्। चुनाव जितेर आउनुस्, हामी जस्ता अभियन्ता र टेलिभिजनमा कार्यक्रम चलाउनुभएका रवि लामिछानेजी आज गृहमन्त्री हुनुहुन्छ,’ उनले भने, ‘तर जातजातिलाई फेरि भड्काएर फेरि आफ्नो रोटी सेक्ने काम यो संसद्‌को रोष्टमबाट नहोस्। किनभने अत्ति भइसक्यो।’

प्रकाशित: २८ असार २०८१ १६:३५ | Friday, July 12, 2024

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

6 + 13 =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast