सांसद ज्ञानेन्द्र शाही। फाइल तस्बिर।
काठमाडौँ- राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) को प्रवास नेपाली सम्पर्क विभाग, जापानले सांसद ज्ञानेन्द्र शाहीले सामाजिक सञ्जालमार्फत दिएको अभिव्यक्तिप्रति गम्भीर आपत्ति जनाएको छ।
विभागले आइतबार जारी गरेको विज्ञप्तिमा सांसद शाहीले फेसबुक लाइभ तथा अन्य सामाजिक सञ्जालमार्फत आफ्नो लोकतान्त्रिक अधिकार प्रयोग गर्ने नागरिक तथा राष्ट्रिय स्वतन्त्र पार्टीका समर्थकलाई लक्षित गरी अपमानजनक र असंयमित अभिव्यक्ति दिएको आरोप लगाएको छ।
जिम्मेवार जनप्रतिनिधिबाट आएको यस्तो अभिव्यक्ति लोकतान्त्रिक मूल्य, राजनीतिक मर्यादा तथा सार्वजनिक पदको गरिमाविपरीत रहेको उल्लेख गर्दै सांसद शाहीलाई आफ्नो अभिव्यक्तिप्रति आत्मसमीक्षा गरी सार्वजनिक रूपमा क्षमायाचना गर्न आग्रह गरिएको छ।
विभागले उचित सम्बोधन र क्षमायाचना नभए लोकतान्त्रिक, संवैधानिक तथा कानुनी प्रक्रियाअनुसार आवश्यक कदम चालिने चेतावनीसमेत दिएको छ।
सम्पूर्ण समर्थक तथा शुभेच्छुकलाई संयमित, सभ्य र तथ्यमा आधारित प्रतिक्रिया दिन आग्रह गर्दै कुनै पनि प्रकारको उत्तेजनात्मक गतिविधिमा संलग्न नहुन अपिल गरिएको छ।

