बाढीपहिरोबाट जनजीवन अस्तव्यस्त, एकजनाको मृत्यु [तस्बिरहरू]

हिमाल प्रेस २२ असार २०८१ १५:५२
68
SHARES
बाढीपहिरोबाट जनजीवन अस्तव्यस्त, एकजनाको मृत्यु [तस्बिरहरू] भारी वर्षाका कारण शनिबार दाङको घोराही उपमहानगरपालिका– १८ स्थित बालुवाटारका स्थानीयवासीको घरभित्र पसेको भल। तस्बिर : रासस

काठमाडौँ- निरन्तर वर्षाका कारण काठमाडौँ उपत्यकासहित देशभरको जनजीवन प्रभावित भएको छ। पछिल्लो २४ घण्टामा एकजनाको मृत्यु भएको छ। बाढीमा परी दाङमा एकजनाको मृत्यु भएको हो। दाङमा एक र दोलखामा एकजना बेपत्ता भएका छन्।बाढीपहिरोका कारण ठाउँठाउँमा सडक अवरुद्ध भएका छन्। कैयौँ बस्तीमा बाढी पसेको छ।

दाङको गढवा गाउँपालिका-५ मा गंगदी खोलाले रा१त २१६६ नम्बरको ट्याक्टर पल्टाउँदा एक जनाको मृत्यु भएको इलाका प्रहरी कार्यालय गढवाका प्रहरी निरीक्षक कालिका कार्कीले जानकारी दिए। उनका अनुसार खोलाले ट्र्याक्टर पल्टाउँदा सोही ठाउँका ५५ वर्षका छेदीराम चौधरीको मृत्यु भएको हो।

दूध बिक्रीका लागि लमही आएका राजपुर गाँउपालिका-२ का १८ वर्षका राजकुमार यादव राप्ती नदीमा बगेर बेपत्ता भएको जिल्ला प्रहरी कार्यालयका प्रमुख रामबहादुर केसीले जानकारी दिए।

दोलखाको गौरीशंकर गाउँपालिका-९ स्थित डोडाङमा अविरल वर्षापछि आएको बाढीमा परेर सोही स्थानका एकजना बेपत्ता भएका छन् भने तीन वटा घर बगेका छन्।

रोल्वालिङ खोलाको बाढीले रोल्वालिङ पदमार्ग डोडाङमा होटल सञ्चालन गर्दै आएकी ६४ वर्षीया जाङ्मु शेर्पा सम्पर्कविहीन भएकी गौरीशंकर-९ का वडाध्यक्ष निमा गेली शेर्पाले बताए।

पृथ्वीराजमार्गअन्तर्गत जिल्लाको शुक्लागण्डकी-७ शेराटारमा रहेको अस्थायी कल्भर्ड बाढीले बगाएपछि सवारी आवतजावत पूर्ण रुपमा बन्द भएको छ। बाढीले कल्भर्ड बगाउँदा राजमार्ग भएर गुड्ने सयौँ सवारीसाधान ठप्प भएको जिल्ला प्रहरी कार्यालयका प्रहरी नायब उपरीक्षक दीपककुमार रायले बताए।

तनहुँको म्याग्दे खोलामा आएको बाढीले जिल्लाको म्याग्दे गाउँपालिका-४ स्थित घुम्ती बजारका घर डुबानमा परेका छन्। शनिबार बिहानदेखि खोलामा जलसहत निकै बढेको जिल्लास्थित उद्योग वाणिज्य संघका कोषाध्यक्ष भीमलाल श्रेष्ठले जानकारी दिए। खोलामा आएको बाढीले यहाँका १४ घर डुबानमा परेका छन्।

तनहुँको बन्दीपुर गाउँपालिका-४ विमलनगरस्थित मर्स्याङ्दी नदीले जलसतह पार गरेको छ। शुक्रबारदेखि परेको अविरल वर्षाका कारण बिहानदेखि नदीले सतर्कता तह पार गरेको हो। मर्स्याङ्दी नदीमा बाढी आउनसक्ने सम्भावना रहेको भन्दै तटीय क्षेत्रका बासिन्दालाई सतर्क रहन र सावधानी अपनाउन आग्रह गरिएको प्रमुख जिल्ला अधिकारी जनार्दन गौतमले बताए।

कालीगण्डकी करिडोरअन्तर्गत नवलपुर खण्डमा सडक अवरुद्ध भएको छ। वर्षाका कारण तर्रग खोलाको ह्युमपाइप बगाएपछि कालीगण्डकी करिडोर अवरुद्ध भएको जिल्ला प्रहरी कार्यालय नवलपुरका प्रहरी नायब उपरीक्षक वेदबहादुर पौडेलले बताए।

पहिराले गोरुसिंगे-सन्धिखर्क सडकखण्ड अवरुद्ध भएको छ। सन्धिखर्क-६ दहखोला र बहोखरमा पहिरो खसेपछि सडक अवरुद्ध भएको जिल्ला प्रहरी कार्यालय अर्घाखाँचीका प्रमुख प्रतीतसिंह राठोरले जानकारी दिए।

गुल्मीमा पहिरामा पुरिएकी महिलाको जीवितै उद्धार

रुरुक्षेत्र गाउँपालिका ३ स्थित थोर्गाको ठाँटीमा पहिरोमा पुरिएकी महिलालाई जीबितै उद्धार गरिएको छ। घर माथिबाट पहिरो जाँदा पुरिएकी रुरुक्षेत्र-३ की उजेली विकलाई तत्कालै जीवितै उद्धार गरिएको रुरुक्षेत्र गाउँपालिकाका अध्यक्ष यदु ज्ञवालीले जानकारी दिए।

अविरल वर्षाका कारण कालीगण्डकी कोरिडोर अवरुद्ध भएको छ। दुई दिनदेखिको निरन्तर वर्षाका कारण उक्त करिडोरको बागलुङ र पर्वत खण्डमा सडक अवरुद्ध भएको हो। बागलुङको जैमिनी नगरपालिका-बिनामारे क्षेत्रमा पहिरो झर्दा कोरिडोर अवरुद्ध भएको छ।

जैमिनीको छिस्ती, जैदी, अर्जेवा, बिनामारेलगायतका स्थानदेखि जिल्ला सदरमुकाम बागलुङ बजार आउने सावारीसाधान बाटोमै ठप्प रहेका जिल्ला प्रहरी कार्यालयका सूचना अधिकारी एवं प्रहरी नायव उपरीक्षक विजय यादवले जानकारी दिए।

यसैगरी म्याग्दी र मुस्ताङलाई राष्ट्रिय राजमार्गसँग जोड्ने कालीगण्डकी कोरिडोर आयोजनाअन्तर्गत पर्वतको मालढुंगा-बेनी सडक पनि अवरुद्ध भएको छ। कुश्मा नगरपालिका-१ मालढुङ्गा नजिक भिरबाट ढिस्कोसहित पहिरो खसेपछि सडक अवरुद्ध बनेको हो।

पहिरोले सिद्धार्थ राजमार्ग विभिन्न ठाउँमा अवरुद्ध भएको छ। स्याङ्जा-वालिङ सडकको भीरकोट-४ छाङ्छाङ्दी नजिक शनिबार बिहान पहिरो जाँदा सडक अवरुद्ध भएको जिल्ला प्रहरी कार्यालयका प्रहरी नायब उपरीक्षक एवं प्रहरी प्रवक्ता इन्द्रबहादुर रानाले जानकारी दिए।

सिद्धार्थ राजमार्गका केही ठाउँमा पहिरो हटाएर एकतर्फी यातायात सञ्चालन गरिए पनि धेरै ठाउँमा पहिरो गएकाले पूर्णरुपमा सञ्चालनमा आउन समय लाग्ने भएको छ।

पहिरोले बीपी राजमार्ग अवरुद्ध भएको छ। सिन्धुलीको सुनकोशी गाउँपालिका-२ कमिरेफाँटमा पहिरोले सडक अवरुद्ध भएको हो। जिल्ला प्रहरी कार्यालय सिन्धुलीका प्रमुख प्रहरी उपरीक्षक गोविन्दराज काफ्लेका अनुसार राजमार्ग माथिबाट पहिरोसहित बगेर आएको लेदोले शनिबार बिहानैदेखि यातायात सेवा ठप्प छ।
राजमार्ग अवरुद्ध हुँदा बिहानैदेखि सयौँ सवारीसाधन बाटोमै रोकिएका छन्।

कान्ति राजपथको ललितपुर खण्डमा पहिरो गएका कारण बिहानैदेखि सडक अवरुद्ध छ। ललितपुरको बागमती गाउँपालिका-३ पाङजुरे (भट्टेडाँडा नजिक) मा पनि पहिरो गएको छ। पहिरो हटाएर सडक खुलाउने प्रयास भइरहेको मकवानपुरका प्रहरी प्रवक्ता लक्ष्मी भण्डारीले जानकारी दिए।

पहिरोले बेसीँसहर चामे सडक अवरुद्ध भएको छ। यस सडकअन्तर्गत लमजुङ जिल्ला मर्स्याङ्दी गाउँपालिका-४ हावाडाँडा सडक माथिबाट आज बिहान पहिरो आउँदा पूर्णरुपमा सडक अवरुद्ध भएको डुम्रे बेँसीसहर चामे सडक योजना कार्यालयले जनाएको छ।

कार्यालयका सूचना अधिकारी किरण पोखरेलले सो ठाउँमा ठूलो पहिरो आएको र पहिरो हटाउन समस्या भइरहेको बताएका छन्।

दाङको घोराही-तुलसीपुर सडकखण्ड अन्तर्गत सेवारखोलामा बनाएको डाइभर्सन बगेको छ। बाढीले उक्त डाइभर्सन बगाएको हो। सो ठाउँमा असहले आवतजावत ठप्प छ। जिल्ला प्रशासन कार्यालय दाङले वैकल्पिक सडक प्रयोग गर्न अनुरोध गरेको छ।

पर्साको वीरगन्ज महानगरपालिकाका विभिन्न वडा डुबानमा परेका छन्। महानगरपालिकाको छपकैया, बजारछपकैया, घडिअर्वा, रानीघाट, श्रीपुर, नगवा, राधेमाईलगायत ठाउँ डुबानमा परेका हुन्। जमेको पानीलाई निकास दिन बिहानैदेखि उपकरण तथा कर्मचारी परिचान गरिएको वीरगन्ज महानगरपालिकाको सरसफाइ शाखाका प्रमुख सरफुद्दिन मियाले जानकारी दिए।

पहिरो खसेर कर्णाली राजमार्गको कालिकोट सडकखण्ड अवरुद्ध भएको छ। कालिकोटको हुल्म बजारलगायत ठाउँमा पहिरोले सडक अवरुद्ध छ। सडक अवरुद्ध हुँदा सुर्खेत-जुम्लाका लागि छुटेका सवारीसाधन बाटोमै रोकिएको प्रहरी कार्यालयका सूचना अधिकारी बीरबहादुर ओलीले बताए।

रारा विमानस्थलमा चार दिनदेखि हवाईसेवा अवरुद्ध

हिमाली जिल्ला मुगु, जुम्ला र हुम्लामा वर्षाका कारण चार दिनदेखि हवाईसेवा अवरुद्ध हुँदा यात्रु मर्कामा परेका छन्। निरन्तर वर्षा हुँदा मुगु, जुम्ला र हुम्लामा उडान ठप्प छ। विभिन्न ठाउँमा जाने यात्रु गन्तव्यमा पुग्न नपाउँदा मर्कामा परेका हुन्। निरन्तरको वर्षाले चार दिनदेखि नेपालगन्जबाट हवाई उडान नभएको रारा नागरिक उड्डयन कार्यालयका प्रमुख श्रीकृष्ण रिजालले बताए।

निरन्तरको वर्षापछि सप्तकोशीमा बहाव बढेको छ। कोसी ब्यारेज नियन्त्रण कक्षका अनुसार कोशीमा शनिबार दिउँसो २ लाख ५५ हजार क्युसेक प्रतिसेकेन्डका दरले पानीको बहाव भइरहेको छ। पानीको वहाव अत्यधिक भएपछि कोसी ब्यारेजका ३० वटा ढोका खोलिएको छ।

काठमाडौँ उपत्यकाका बागती, विष्णुमती, धोबीखोला, हनुमन्तेलगायत खोलामा जल सतह बढेको छ। कतिपय सडकमा पानी जमेर आवगमन प्रभावित भएको छ।

काठमाडौँ उपत्यकामा रहेका सशस्त्र प्रहरी बल नेपालका एकाइबाट विभिन्न इलाकामा टोली परिचालन गरिएको सशस्त्र प्रहरीका सहायक प्रवक्ता शैलेन्द्र थापाले जानकारी दिए।

हालसम्म बाढीबाट उपत्यकामा मानवीय तथा भौतिक क्षति भएको छैन। सशस्त्र प्रहरी बल नेपाल नं २० विपद् उद्धार उपत्यका गणबाट सशस्त्र प्रहरी उपरीक्षक पूर्णबहादुर साउदको ‘कमान्ड’मा उपत्यकाका विभिन्न स्थानमा तीन सयभन्दा बढी फौज परिचालन भएको छ।

जल तथा मौसम विज्ञान विभागको तथ्यांकअनुसार गत २४ घण्टामा देशभर वर्षा भएको छ। लुम्बिनी, गण्डकी र बाग्मती प्रदेशका धेरै स्थानमा धेरै पानी परेको छ। भारी वर्षा भएको स्थानमा बाढी, डुबान तथा पहिरोको जोखिम रहेकाले आवश्यक सतर्कता अपनाउन विभागले आग्रह गरेको छ।

नारायणगढस्थित नारायणी नदीमा आएको बाढी। यतिबेला नारायणी नदी देवघाट जलमापन केन्द्रमा जल सतहले सतर्कता तह पार गरी खतरा उन्मुख रहेको छ। तस्बिर : रासस
अविरल वर्षाका कारण शनिबार दाङको घोराही उपमहानगरपालिका- १७ स्थित ओखरा र बेलभार जोड्ने स्थानीय खोलामा बनेको कलभर्ट छेउको भत्किएको सडक। तस्बिर : रासस
बुटवल उपमहानगरपानिका-११ बुद्धनगरस्थित तिनाउ नदीमा बढेको पानीको सतह। नदी छेउछाउका बस्ती जोखिममा परेका छन्। तस्बिर : रासस
भक्तपुरको हनुमन्ते खोलामा आएको बाढी सूर्यविनायकस्थित बाराहीस्थानका विद्यालय र बस्तीमा पसेको छ। तस्बिर : रासस
वीरगन्ज महानगरपालिकाको-११ श्रीपुरमा शनिबार डुबानमा परेको सडक र सडक किनाराका नालमा खसेको जिप।  तस्बिर : रासस
मनाङ सदरमुकाम चामे बजार बीचबाट बगेको घट्टेखोलामा बाढी आएको छ भने उता मर्स्याङदी नदीको पानीको सतह बढ्दा चामे बजारको अवस्था। तस्बिर :  रासस
मध्यपहाडी लोकमार्गअन्तर्गत लमजुङ सुन्दरबजारको खहरे खोलामा निर्माणाधीन पुल समयमै सम्पन्न हुन नसक्दा बर्खा लागेपछि बाढीको कारण सडक अवरुद्ध।  तस्बिर : रासस
अविरल वर्षाका कारण डुबानमा परेको विश्वकै ठूलो शालिग्राम शिला र जोखिममा परेको सेतीवेणीबजार।  तस्बिर : रासस
तनहुँको शुक्लागण्डकी नगरपालिका-८ पाटन तल ओरालोमा शनिबार वर्षाका कारण गएको पहिरो। तस्बिर : रासस
मनाङको नासो गाउँपालिका-१ ताल गाउँ उच्च जोखिमा। नदीको किनारमा रहेको यस गाउँ २०७८ असार १ गतेको बाढीले ५५ घर पूर्णक्षति भएको थियो भने गाउँ नै बगरमा परिणत भएको थियो। तस्बिर : रासस
दोलखाको गौरीशंकर गाउँपालिका- ९ स्थित डोडाङमा अविरल वर्षापछि आएको बाढीमा परी तीनवटा घरसहित एक होटल बगेको भने एक जना बेपत्ता छन्। तस्बिर : रासस
बबई नदी अन्तर्गत तुलसीपुर- १२ शीतलपुर खण्डमा बढेको पानीको बहाव लगातारको वर्षाले गर्दा दाङका नदी तथा खोलामा पानीको बहाव बढेको छ। तस्बिर : रासस
काठमाडौँ र ललितपुरको सिमाना छुटाउन थापाथलीस्थित बागमती नदीमा आएको बढी। तस्बिर  : रासस
घोराही उपमहानगरपालिका-५ वसन्तापुरमा बबई नदीमा आएको बाढीका कारण डुबानमा परेका घर। तस्बिर : रासस
प्रकाशित: २२ असार २०८१ १५:५२

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

1 × 3 =