देश बलियो भए सबै जातजाति र भाषाभाषीको अधिकार संरक्षण हुन्छ : सभापति देउवा

हिमाल प्रेस ११ असार २०८१ १६:५२ | Tuesday, June 25, 2024
देश बलियो भए सबै जातजाति र भाषाभाषीको अधिकार संरक्षण हुन्छ : सभापति देउवा फाइल तस्बिर।

काठमाडौँ- नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले देश बलियो भएमात्र सबै जातजाति र भाषाभाषीको अधिकार संरक्षण हुने भएकाले सबैको एकतामा जोड दिनुपर्ने बताएका छन्। नेपाल लोकतन्त्रवादी आदिवासी जनजाति महासङ्घको प्रथम राष्ट्रिय महाधिवेशन उद्घाटन समारोहलाई आज यहाँ सम्बोधन गर्दै उनले सबै समुदाय एक भए मात्रै मुलुकका लागि योगदान गर्न सकिने धारणा व्यक्त गरेका हुन्।

आदिवासी जनजातिका अधिकार संरक्षणका लागि आफू विगतदेखि नै लागिपरेको उल्लेख ग‍र्दै पूर्वप्रधानमन्त्रीसमेत रहेका देउवाले आदिवासी जनजाति उत्थान राष्ट्रिय प्रतिष्ठानलगायत संरचना आफू प्रधानमन्त्री भएकै बेला स्थापना भएको स्मरण गरे।

आदिवासी जनजातिको हक, अधिकारसँगै भाषा, संस्कृति संरक्षणमा पनि सबैको सहयोग रहनेमा उहाँले विश्वास व्यक्त गर्नुभयो। जनजातिका माग पूरा गर्न पार्टीका तर्फबाट पहल गर्ने उनले प्रतिबद्धता जनाए।

कांग्रेसको गत महासमिति बैठकले यही असार १५ गतेसम्म सबै भ्रातृ संस्थाको महाधिवेशन गरिसक्ने समय निर्धारण गरेको थियो। महासमिति बैठकले तोकेको अवधिमा महाधिवेशन सम्पन्न गर्ने महासङ्घ पहिलो भ्रातृ संस्था बनेको छ। महासमिति बैठकले तोकेको असार १५ गतेसम्म अरु कुनै पनि भ्रातृ संस्थाले महाधिवेशन गर्ने तयारी गरेका छैनन्।

आदिवासी जनजाति सङ्घ महासङ्घका रुपमा रुपान्तरण भएपछिको यो पहिलो महाधिवेशन हो। महासङ्घमा ५९ वटै जनजातिका सङ्घ संस्थाको प्रतिनिधित्व रहेको महासचिव जगत बरामले जानकारी दिए।

प्रकाशित: ११ असार २०८१ १६:५२ | Tuesday, June 25, 2024

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

one × one =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast