काठमाडौँ- वैदिक सनातन धर्मावलम्बीले आआफ्नो घरको मठमा मंगलबार तुलसीको दल राखेका छन्।
प्रत्येक वर्ष ज्येष्ठ शुक्ल एकादशीका दिन घरघरमा तुलसीको दल राख्ने गरिन्छ। यस दिनलाई निर्जला एकादशी पनि भनिन्छ। यस दिन रोपेको बिउ एक महिनापछि आषाढ शुक्ल एकादशी अर्थात् हरिशयनी एकादशीका दिन रोपिन्छ।
आषाढ शुक्ल एकादशीदेखि कात्तिक शुक्ल एकादशीका दिनसम्म तुलसीको विशेष पूजा गरिन्छ। यसलाई तुलसी हुकाई–बढाई दामोदरसँग विवाह गरिने भन्ने पनि बुझिन्छ। यो चार महिनालाई चतुर्मास भनिन्छ।
चतुर्मासमा स्नान, पूजन र दान गर्नाले मनोकांक्षा पूरा हुने धार्मिक विश्वास छ। निर्जला एकादशीसमेत भनिने भएकाले यस दिन पानीसमेत नपिई व्रत गर्नाले अभीष्ट फल पाइने शास्त्रीय वचन रहेको धर्मशास्त्रविद् एवम् नेपाल पञ्चांग निर्णायक समितिका सदस्य प्राडा देवमणि भट्टराईले जानकारी दिए।
सक्नेले पानी नखाई व्रत गरे पनि नसक्नेका लागि फलफूल खाएर बस्न सकिने पनि उनले जानकारी दिए। आयुर्वेदिक रूपमा पनि लाभकारी औषधि मानिने तुलसी विभिन्न रोगको उपचारमा समेत प्रयोग गरिन्छ।
तुलसीमा धेरै अक्सिजन पाइने आधुनिक विज्ञानले प्रमाणित गरेको छ। यस अवसरमा देशभरका नारायणस्थान एवम् विष्णु मन्दिरमा भक्तजनको विशेष भीड लाग्ने गर्छ।