एमाले सुनसरीका नवनिर्वाचित अध्यक्ष नीलम खनालको निधन, भारतबाट शव ल्याइदै

हिमाल प्रेस २४ जेठ २०८१ ९:५१
4
SHARES
एमाले सुनसरीका नवनिर्वाचित अध्यक्ष नीलम खनालको निधन, भारतबाट शव ल्याइदै

इटहरी- नेकपा एमाले सुनसरीका अध्यक्ष नीलम खनालको निधन भएको छ।

बराहक्षेत्र नगरपालिकाका निवर्तमान मेयरसमेत रहेका खनालको हिजो (बुधबार) राति निधन भएको एमाले सुनसरीका निवर्तमान अध्यक्ष रेवतीरमण भण्डारीले पुष्टि गरे।

भारतको हैदरावाद जाने क्रममा तेलङ्गना राज्यको कागज नगर पुग्दा उनको निधन भएको भण्डारीले जानकारी दिए।

‘उहाँ बिरामी भएको तर निको भइसकेको भन्ने कुरा थियो, उनले भने, फेरि बिरामी भएपछि उपचारका लागि हैदरावाद जाँदाजाँदै राति नै निधन भएछ।’ अध्यक्ष भण्डारीले भने।

उनले हैदरावादबाट शव आइसकेपछि भोलितिर मात्रै अन्त्येष्टि गरिनेसमेत जनाए। उनी जन्डिस लगायत स्वास्थ्य समस्याबाट लामो समयदेखि बिरामी थिए।

खनाल नेकपा एमाले सुनसरी जिल्लाको आठौँ जिल्ला अधिवेशनबाट अध्यक्षमा निर्वाचित भएका थिए । गत जेठ ५ गते देखि ७ गतेसम्म भएको अधिवेशनमा उनी अध्यक्षमा निर्वाचित भएका थिए।

निर्वाचित भएसँगै बिरामले च्यापेको थियो। २०१८ सालमा जन्मेका खनाल २०३७ सालदेखि राजनीतिमा सक्रिय भएका थिए।

उनले अनेरास्ववियुको राजनीतिदेखि पार्टीको इलाका कमिटी हुँदै जिल्ला कमिटी सचिवालय सदस्यसम्म रहेर कुशलतापूर्वक काम गरेका थिए। २०५४ सालमा सुनसरीको भरौल गाविस उपाध्यक्षसमेत बनेका थिए।

२०४२ सालको बमकाण्डमा संलग्न रहेको आरोपमा उनी पक्राउ पर्ने थाहा पाएपछि भारतको बनारसमा गएर भूमिगत राजनीति गरेका थिए। पछिल्लोपटक २०७४ सालको स्थानीय तहको निर्वाचनमा बराहक्षेत्र नगरपालिकाको मेयरमा निर्वाचित भएका थिए।

प्रकाशित: २४ जेठ २०८१ ९:५१

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

eighteen + five =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast