रवि लामिछानेको प्रश्न : संसद्‌मा बोल्न नदिने कांग्रेस कस्तो लोकतान्त्रिक दल?

हिमाल प्रेस ३१ वैशाख २०८१ १८:१७ | Monday, May 13, 2024
रवि लामिछानेको प्रश्न : संसद्‌मा बोल्न नदिने कांग्रेस कस्तो लोकतान्त्रिक दल? रवि लामिछाने

काठमाडौँ- गृहमन्त्रीसमेत रहेका राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेले संसद् बैठकमा आफूमाथि लागेको आरोपबारे आफूले बोल्न पाउनुपर्ने अडान कायमै भएको बताएका छन्। प्रधानमन्त्री पुष्पकमल दाहाल, प्रमुख सत्ता साझेदार दल नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीसँग छलफल गरेर बालुवाटारबाट बाहिरिने क्रममा यस्तो बताएका हुन्।

‘मैले एकपटक बोल्न पाउनुपर्छ भनेको छु। मैले चुनौती पनि दिएको छु । मलाई जवाफ जहाँ दिए पनि हुन्छ । मैले आफूमाथि निरन्तर आरोप लागेपछि एकपल्ट जवाफ दिन पाउनुपर्छ,’ उनले भने, ‘सार्वभौम संसद्मा बोल्ने अधिकार मेरो पनि हो । त्यसपछि के गर्ने हो कुरा गरौँला।’

कांग्रेसका सांसदले हात बाँधेर घेरेर बोल्न नदिएको र उनीहरूले नै डराएको भनेर भाषण गरेको टिप्पणी गरे। उनले लोकतान्त्रिक अभ्यास गर्ने दलले न्याय बिर्सेको पनि आरोप लगाए। ‘हात बाँधेर छिर्न नदिने, अनि किन डराएको भन्ने ? एकपल्ट कुरा सुन्न किन डराएको ? लोकतान्त्रिक अभ्यास भएको दलले कुरा सुन्दा पनि सुन्दिन भन्ने ? फौजदारी आरोप लगाउने ? किन डराएको भन्ने ? पहिला मेरो कुरा सुन्न तयार हुनुपर्छ,’ उनले थप भने, ‘बोल्न पनि नदिएर, वेल पनि घेरेर समिति बनाउनुपर्छ पहिला भन्नु न्यायसंगत हो र ? आफ्ना कुरा स्पष्ट पारौँ । त्यसपछि मात्रै समितिका विषयमा छलफल गरौँला ।’

सभामुखले रोस्टमको प्रयोग गरेर बोल्न समय दिँदा कांग्रेसले रोक्न नमिल्ने बताए। उनले भने, ‘मागमाथि माग राखेर हुँदैन । पहिला प्रधानमन्त्रीको जवाफ मागियो, त्यसपछि गृहमन्त्रीको भनियो । एउटा मान्छेमाथि जवाफ मागेपछि संसदको लोकतान्त्रिक रक्षाको गर्नुपर्दैन कांग्रेसले ?’

कांग्रेसले सहकारी प्रकरणमा लामिछानेको नाम जोडिएपछि उनीमाथि छानबिन गर्न संसदीय समिति बनाउनुपर्ने माग राख्दै आएको छ। जसका कारण संसद् निरन्तर अवरुद्ध भइरहेको छ। सत्तापक्षले भने लामिछानेले आरोपमाथि जवाफ दिन पाउनुपर्ने बताउँदै आएको छन्।

प्रकाशित: ३१ वैशाख २०८१ १८:१७ | Monday, May 13, 2024

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

19 − sixteen =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast