काठमाडौँ- भारतको उत्तराखण्ड राज्यमा पर्ने नैनीताल जिल्लामा जिप दुर्घटना हुँदा ७ नेपालीसहित ८ जनाको मृत्यु भएको छ। टाइम्स अफ इन्डियाले मृतक नेपाली कञ्चनपुरको महेन्द्रनगर निवासी रहेको उल्लेख गरेको छ।
मृत्यु हुने नेपालीमा ५० वर्षीय शिवराम चौधरी, ४५ वर्षीय धीरज चौधरी, ४० वर्षीय अनन्तराम चौधरी, ३८ वर्षीय विनोद चौधरी, ५५ वर्षीय उदयराम चौधरी, ४५ वर्षीय तिलक चौधरी र ६० वर्षीय गोपाल चौधरी रहेको प्रहरीलाई उधृत गर्दै समाचारमा जनाइएको छ।
सोमबार साँझ बेतालघाट क्षेत्रको मल्लागाउँबाट नेपाली कामदार बोकेर टनकपुरतर्फ आउँदै गरेको जिप भिरमा खसेको थियो। दुर्घटनामा जिपचालक भारतीय नागरिक राजेन्द्र कुमारको पनि मृत्यु भएको भारतीय सञ्चारमाध्यममा उल्लेख छ। कामका लागि त्यहाँ पुगेका नेपाली घर फर्कँदै गर्दा दुर्घटनामा परेको जनाइएको छ।
भारतीय समाचार एजेन्सी प्रेस ट्रस्ट अफ इन्डियाका अनुसार जिप सडकबाठ १५० फिट तल खसेको थियो। उद्धारकर्ताहरूले दुर्घटनास्थलबाट आठवटा शव निकालेका थिए। जिपमा नौ जना नेपाली चढेका थिए। घाइते दुई जनालाई उपचारका लागि स्थानीय अस्पतालमा लगिएको छ।
बेतालघाट प्रहरी थानाका प्रहरी अधिकारी अनिश अहमदले भनेका छन्, ‘हामीले सूचना पाएलगत्तै घटनास्थलमा पुग्यौँ। गाउँले र राज्यको विपद् उद्धार टोलीको सहयोगमा उद्धार कार्य सुरु गर्यौँ। अँध्यारो भएकोले दुई घण्टा लाग्यो। सात नेपाली र चालकको शव निकालिएको छ।’
दुर्घटनामा परेका नेपालीहरू उच्चकोट गाउँमा रहेको जल जीवन मिसन आयोजनामा काम गर्दथे। उक्त ठाउँ नैनीतालबाट करिब ६० किमि टाढा पर्छ।