 
                            
                                            सिक्लेस (कास्की)- चलचित्र विकास बोर्ड अध्यक्ष भुवन केसीले बोर्डमा गइसकेपछि आफूले सकेजस्तो काम गर्न नसकेको स्वीकारेका छन्। उनले चलचित्र विकास बोर्ड सञ्चार मन्त्रालयमा हराएको अनुभव सुनाए।
चलचित्र पत्रकार संघ कास्कीको आयोजनामा पर्यटकीय क्षेत्र सिक्लेसमा आयोजित सिने संवादमा ‘सरकार र सिनेमा : हिजो, आज र भोलि’ सेसनमा बोल्दै उनले सो कुरा बताएका हुन्। सेसनका सहजकर्ता संचारकर्मी प्रकाश सुवेदीको प्रश्नमा अभिनेता समेत रहेका बोर्ड अध्यक्ष केसीले भने, ‘नेपाली फिल्मको गन्तव्य कनहाँ होला भनी खोज्न गएको थिएँ, बोर्ड त सञ्चार मन्त्रालयभित्र हराएको रहेछ।’
उनले बोर्ड जबसम्म स्वायत्त हुन सक्दैन, नेपाली फिल्मको विकास पनि हुन नसक्ने बताए। हालसम्म २०२६ सालको चलचित्र ऐन कार्यान्वयन रहेको भन्दै फिल्म ब्याक एण्ड ह्वाइडबाट कलरमा आइसक्दा पनि त्यही ऐन कार्यान्वयन हुनु दुःखद् भएको बताए। नयाँ ऐन पारित गर्नका लागि आफूहरू लागिरहेको उनको भनाइ थियो।
निर्देशक एवं कलाकार दीपाश्री निरौलाले सरकारले फिल्मलाई प्राथमिकतामै नराखेको गुनासो गरिन्। चलचित्र भन्नेबित्तिकै रमाइलोको लागि हो भन्ने टिप्पणी छ। ‘प्राथमिकताको रूपमा फिल्मलाई राख्नुपर्छ,’ उनले भनिन्, ‘जति हामीले सिकेका थियौँ, त्यत्ति नै गरेर फिल्म बनाएका हौँ। कलाकारलाई तालिमको जरुरी छ।’
चलचित्र निर्माता संघका निवर्तमान अध्यक्ष एवं कलाकार आकाश अधिकारीले चलचित्र उद्योगलाई उद्योगमात्र ठानेर यसलाई सशक्त माध्यमको रूपमा सरकारले अघि बढाउनुपर्छ भनी आफूहरू लागिरेकोमा २०७६ सालमा राष्ट्रिय प्राथमिकता उद्योगसम्म गएको बताए। उनले कुनै पनि चिजको नीति, ऐन र कानुन बन्नुअघि पानामा गएर ठोक्किन्ने गरेको बताए। ‘राज्यले फिल्म क्षेत्र कर नै तिर्दैनन् भन्ने दृष्टिकोण छ। राज्यको निकायको आँखा खुलेको छैन,’ उनले भने। चलचित्र विकास बोर्डले आफ्नो भवन निर्माण गरेर विकास गरे पनि अरू विकास हुन सकेको उनले टिप्पणी गरे।
हिन्दी फिल्म सहजै सेन्सर बोर्ड पास गरिरहँदा नेपाली फिल्म सेन्सर बोर्डको झमेलामा परिरहेको संचारकर्मी सुवेदीको जिज्ञासामा बोर्ड अध्यक्ष केसीले सेन्सर बोर्डलाई चलचित्र विकास बोर्ड मातहत ल्याउनुपर्ने बताए। उनले दोलखाको फिल्म सिटी अवधारणाको बारेमा प्रकाश पार्दै उनले त्यो निर्माण हुन सके हलिउडको फिल्म सुटिङ गर्न सकिने बताए।
यसै गरी ‘सिनेमाभित्र म, मभित्र सिनेमा’ सेसनमा भुवन केसी र गौरी मल्लले आफ्नो विगत सुनाए। गौरीले आफ्नो पहिलो फिल्म ‘सन्तान’ इन्ट्रीदेखि केसीले आफ्नो डिभोर्सको कुरासम्म कहे। जसमा सञ्चारकर्मी सन्जोक बस्यालले सहजीकरण गरेका थिए।
नेपाली सिनेमाको स्वाद विषयक सेसनमा अनुप बराल, दीया मास्के र मनोज पण्डितले नेपाली फिल्मले अझै खास स्वाद दिन नसकेको टिप्पणी गरे।
निर्देशक मनोज पण्डितले भने, ‘यति धेरै स्वाद संसारमा आए, सबै ल्याउँदा कस्तो स्वाद बनेको हो? थाहै छैन। फिल्मको स्वाद हस्पिटलको खानाको स्वादसँग दाँज्नुपर्ने अवस्था आयो।’
उनले फिल्मका पात्र निर्देशक र लेखकबाट गाइडेड भएको बताए। उनले भने, ‘नेपाली फिल्म आइ लब युभन्दा माथि उठेन। त्यसभन्दा माथि उठेर आई एम हुमन भन्ने कहिले आउँछ ?’ उक्त सेसनमा सहजकर्ता थिए, पत्रकार सुरज सुवेदी।
निर्देशक, लेखक प्रकाश सायमीले व्यवसाय र कला : प्रविधि र प्रवृत्तिबारे आफ्नो विचार व्यक्त गरे। कार्यक्रममा सिक्केसवासी एवं सरोकारवाला निकायको उल्लेख्य उपस्थिति थियो।
सिनेमा, पर्यटन र साहित्यको विकासका लागि संघले पर्यटकीय गाउँहरूमा यसप्रकारको कार्यक्रम गरेको संघ अध्यक्ष प्रभू अधिकारीले बताए। संघले यसअघि कास्कीको घान्द्रुक र घलेलमा यस्तै प्रकृतिको कार्यक्रम गरेको संघ सचिव सन्तोष बस्यालले बताए।
मादी १ का वडाध्यक्ष देवीजंग गुरुङले सिक्लेसमा नेपाली फिल्मका अग्रजलाई पाउनु आफूहरूको लागि अहोभाग्य भएको बताए।


 
                                              
                                              
                                              
                                              
                                              
                                             


 
  
  
  
  
  
  
  
  
  
 