११ विद्यामा उत्कृष्ट कलाकारलाई अवार्ड प्रदान

हिमाल प्रेस २० जेठ २०८३ ८:१२ | Wednesday, June 3, 2026
6
SHARES
११ विद्यामा उत्कृष्ट कलाकारलाई अवार्ड प्रदान

काठमाडौँ- नेपाल आदिवासी जनजाति चलचित्र महासंघ संघीय परिषद्ले कलाकार, निर्देशक तथा छायांकारसहित आदिवासी जनजातिसँग सम्बन्धित कलाकारिताका क्षेत्रका विभिन्न ११ विद्यामा उत्कृष्टलाई अवार्ड वितरण गरेको छ।

चलचित्र विकास बोर्ड तथा आदिवासी जनजाति उत्थान राष्ट्रिय प्रतिष्ठानसँगको सहकार्यमा चलचित्र महासंघले आयोजना गरेको तीन दिने ‘छैटौँ नेपाल आदिवासी जनजाति चलचित्र महोत्सव–२०८३’ समापन कार्यक्रममा विभिन्न विद्यामा उत्कृष्टलाई मंगलबार अवार्ड वितरण गरिएको हो।

महोत्सवमा प्रदर्शन गरिएका चलचित्रमध्येबाट पब्लिक च्वाइस अवार्ड लिम्बू चलचित्र ‘रीत’, उत्कृष्ट चलचित्र अवार्ड गुरुङ चलचित्र ‘ङोल्स्यो रामरानी’, उत्कृष्ट स्क्रिप्ट लखन अवार्ड गुरुङ चलचित्र ‘ङोल्स्यो रामरानी’का लेखक विवेक गुरुङ, उत्कृष्ट निर्देशक अवार्ड लिम्बू चलचित्र ‘रीत’का निर्देशक दिनेश लिङ्देन, उत्कृष्ट अभिनेता अवार्ड मगर चलचित्र ‘दिलसरा’का अभिनेता कल्याण रानामगर तथा उत्कृष्ट अभिनेत्री अवार्ड नेवारी चलचित्र ‘स्वयनगु’की अभिनेतृ भिन्तुना श्रेष्ठले प्रदान गरियो।

उत्कृष्ट छायांकन अवार्ड तामाङ चलचित्र ‘ह्याङ तामाङ’ छायाँकार सूर्य लामा, जुरी अवार्ड राजवंशी वृत्तचित्र ‘विराटनगरके प्राचीन राजवंशी’, इन्करेजमेन्ट अवार्ड तामाङ लघु चलचित्र ‘दुखला ग्यम’, उत्कृष्ट लघु चलचित्र मगर लघु चलचित्र ‘लाहुरेनी’ तथा उत्कृष्ट वृत्तचित्र अवार्ड २०८३ मगर वृत्तचित्र ‘आग्रे’लाई प्रदान गरिएको चलचित्र महोत्सव आयोजक समितिका निर्देशक सागर केरुङले जानकारी दिए।

उत्कृष्ट कलाकार तथा चलचित्रकर्मी, चलचित्र, लघुचलचित्र र वृत्तचित्रलाई कार्यक्रमका प्रमुख अतिथि आदिवासि जनजाति उत्थान राष्ट्रिय प्रतिष्ठानका निमित्त प्रमुख राम मादेनले सम्मान प्रदान गरेका थिए।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

17 − one =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast