काठमाडौँ- जल तथा मौसम विज्ञान विभाग, मौसम पूर्वानुमान महाशाखाले हाल पहाडी भू-भागमा आंशिक बदली रहेको जनाएको छ।
महाशाखाले बाँकी भू-भागमा आंशिकदेखि मौसम सामान्यतया सफा रहेको जनाएको छ।
मौसमबारे नियमित जानकारी दिने महाशाखाले लुम्बिनी र सुदूरपश्चिम प्रदेशका तराई भू-भागका थोरै स्थानमा तथा बाँकी तराई भू-भागका केही स्थानमा हल्कादेखि मध्यम हुस्सु तथा कुहिरो लागेको पनि जनाएको छ।
महाशाखाको भनाइमा आज दिउँसो देशको पहाडी भू-भागमा आंशिक बदली रहनेछ भने बाँकी भू-भागमा आंशिक बदलीदेखि मौसम सामान्यतया सफा रहनेछ।
राति सुदूरपश्चिम, कर्णाली, लुम्बिनी र गण्डकी प्रदेशलगायत पहाडी भू-भागमा आंशिक बदली रहनेछ।
महाशाखाले बाँकी भू-भागमा मौसम सामान्यतया सफा रहने उल्लेख गरेको छ। चिसो बढ्दै गएकाले आवश्यक सावधानी अपनाउन पनि महाशाखाले अनुरोध गरेको छ।