दसैँको मुखमा ‘भीषण वर्षा’ हु्न्छ? यसो भन्छ मौसम विभाग

हिमाल प्रेस १४ असोज २०८३ ७:१९ | Wednesday, September 30, 2026
दसैँको मुखमा ‘भीषण वर्षा’ हु्न्छ? यसो भन्छ मौसम विभाग फाइल तस्बिर

काठमाडौँ- असोज १७ गतेदेखि लगातार ३ दिन भीषण वर्षा हुने भन्दै सामाजिक सञ्जालमा व्यापक हल्ला फैलिएपछि सर्वसाधारणले मौसमसम्बन्धी जानकारी खोज्न थालेका छन् ।सर्वसाधारणको बढ्दो चासो र सोधपुछपछि नेपाल सरकारको आधिकारिक निकाय जल तथा मौसम विज्ञान विभागले उक्त हल्ला पूर्णतः निराधार रहेको भन्दै खण्डन गरेको छ । तर मौसम विज्ञले भने आगामी दिनमा सामान्य झरी र चिसो बढ्ने प्रक्षेपण गरेका छन्।

जल तथा मौसम विज्ञान विभागअन्तर्गतको मौसम पूर्वानुमान महाशाखाले एक आधिकारिक सूचना जारी गर्दै असोज १७ गतेदेखिको भीषण वर्षाको खबरप्रति आफ्नो गम्भीर ध्यानाकर्षण भएको जनाएको छ ।

महाशाखाले स्पष्ट पारेको छ कि विभागले त्यस्तो कुनै पनि प्रकारको भारी वर्षाको पूर्वानुमान गरेको छैन। हालको मौसमी गतिविधिमा खासै ठुलो फेरबदल नपाइएकाले यस्ता तथ्यहीन र भ्रामक खबरको पछि नलाग्न र अफवाह नफैलाउन विभागले सम्पूर्ण सर्वसाधारणमा अनुरोध गरेको छ।

‘भीषण वर्षा’ को सम्भावनालाई नकारे पनि मौसम विज्ञ विनोद पोखरेलले भने आगामी दिनमा मौसममा बदलाव आउने र झरी पर्ने सङ्केत गरेका छन् । भर्खरै मात्र लामो झरी सकिएकाले मानिसहरूलाई त्रसित नबनाउन आफूले सुरुमा यसबारे जानकारी नराखेको तर धेरैको जिज्ञासा आएपछि अपडेट दिएको पोखरेलले बताएका छन्। उनको विश्लेषण अनुसार पश्चिमी वायुको प्रभावका कारण बिहीबारदेखि नै घाम कम लाग्ने र पहाडी भूभागका केही स्थानहरूमा वर्षा हुने सम्भावना रहेको छ ।

विज्ञ पोखरेलका अनुसार विशेषगरी आइतबारदेखि दसैँको घटस्थापनासम्मको अवधिमा मौसम बढी प्रभावित हुनेछ । सो अवधिमा आकाशमा बदली भई झरी पर्ने र मौसम चिसो हुने उनको पूर्वानुमान छ।

माथिल्लो वायुमण्डलमा विकसित हुने न्यून चापीय प्रणालीको कारण नेपालमा वर्षा गराउने र औसतभन्दा बढी चिसो महसुस हुने उनले उल्लेख गरेका छन्।

प्रकाशित: १४ असोज २०८३ ७:१९ | Wednesday, September 30, 2026

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

11 − 5 =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast