जाजरकोट भूकम्प : नौ करोड बराबरको खाद्यान्‍न क्षति

हिमाल प्रेस २५ मंसिर २०८० ९:१२ | Monday, December 11, 2023
जाजरकोट भूकम्प : नौ करोड बराबरको खाद्यान्‍न क्षति जाजरकोट भूकम्पबाट भारी मात्रामा क्षती भएको नलगाड नगरपालिका–१ कल्पतगाउँमा त्रिपालको सहारामा बसिरहेका सर्वसाधारण । तस्बिरः हेमन्त केसी / रासस

जाजरकोट- जाजरकोट भूकम्पबाट ९ करोड रुपैयाँभन्दा बढी मूल्यको खाद्यान्न नष्ट भएको छ। ३४ हजार पाँच सय एक घरमा भण्डारण गरिएको नौ करोड २६ लाख ५८ हजार नौ सय रुपैयाँ बराबरको खाद्यान्न पुरिएर नष्ट भएको कृषि विकास कार्यालय जाजरकोटले जनाएको छ।

गत कात्तिक १७ गते रामीडाँडालाई केन्द्रविन्दु बनाएर गएको भूकम्पबाट नौ हजार सात सय ९४ घर पूर्णरूपमा क्षतिग्रस्त भएका छन्। ६।४ म्याग्निच्युटको भूकम्पले भत्किएका ३४ हजार पाँच सय एक घरमा भण्डारण गरिएको धान, मकै, गहुँ, र कोदोजस्ता अन्न तथा खाद्यान्न पुरिएर नष्ट भएको कार्यालयले जनाएको छ।

कार्यालयका सूचना अधिकारी टोपेन्द्र विश्वकर्माले दिएको जानकारीअनुसार २८ लाख २८ हजार सात सय २५ किलो धान सहित मकै, गहुँ, कोदोलगायत अन्न पुरिएर नष्ट भएको छ।

जाजरकोट भूकम्पले जिल्लाभर पाँच करोड ४१ लाख ४२ हजार एक सय ७२ रुपैयाँ बराबरका पशुपन्छीको क्षति भएको छ। जाजरकोटमा मात्र भूकम्पबाट ९० हजार पाँच सय ६७ मानिस प्रत्यक्षरुपमा प्रभावित भएका छन्।

खाद्यान्न भण्डारण गर्न आग्रह

कृषि क्षेत्रमा जोडिएका अधिकांश मानिस अन्यत्र काममा पनि स‌लग्‍न हुनुपर्ने भएकाले भूकम्प प्रभावित क्षेत्रमा खाद्यान्न समस्या हुने हो कि भन्ने चिन्ता थपिएको छ।

खेतबारी लगाएको अन्नबाली भएको ठाउँमा अस्थायी टहरादेखि त्रिपाल टाँग्ने काम भएकाले खाद्यान्न उत्पादनमा कमी आउने जनाइएको छ। जिल्लाको बारेकोट गाउँपालिका बर्सेनि खाद्यान्न अभाव हुने क्षेत्र हो।

जिल्ला प्रशासन कार्यालयले खाद्यान्न जोहो गरेर भण्डारण गर्न आग्रह समेत गरेको छ।

प्रकाशित: २५ मंसिर २०८० ९:१२ | Monday, December 11, 2023

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

fifteen + 14 =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast