काठमाडाैँ- परराष्ट्रमन्त्री शिशिर खनालले बदलिँदो विश्व परिवेशमा नेपालले परम्परागत कूटनीतिक अभ्यासभन्दा बाहिर निस्केर प्रविधि, जलवायु परिवर्तन, मानव गतिशीलता र विश्वव्यापी सञ्जालमा आधारित नयाँ पुस्ताको कूटनीति अपनाउनुपर्ने बताएका छन्।
काठमाडाैँमा परराष्ट्र मामिला अध्ययन प्रतिष्ठान (आईएफए) नेपालद्वारा आयोजित ‘Global Currents, Local Compass: Nepal’s Next Generation Diplomacy’ विषयक एकदिने नीति संवाद गोष्ठीलाई सम्बोधन गर्दै मन्त्री खनालले विश्वव्यापी चुनौती सामना गर्न नेपालको कूटनीति समयानुकूल, चुस्त, आत्मविश्वासी र सहकार्यमा आधारित हुनुपर्ने बताएका हुन्।
उनले भूराजनीतिक तनाव, विश्व व्यापारमा देखिएको विखण्डन, कृत्रिम बुद्धिमत्ता (एआई), अग्रणी प्रविधि, जलवायु परिवर्तन तथा राष्ट्रिय सुरक्षाका बदलिँदा आयामले अन्तर्राष्ट्रिय सम्बन्धलाई नयाँ स्वरूप दिइरहेको बताए। ‘भूराजनीतिक तनावले विश्व व्यापार र बहुपक्षीय नियमहरूलाई खण्डित गरिरहेका छन्। अग्रणी प्रविधि र कृत्रिम बुद्धिमत्ताले आर्थिक शक्ति तथा शासनका नियमहरू पुनर्लेखन गरिरहेका छन्,’ उनले भने, ‘तीव्र गतिमा बढिरहेको जलवायु परिवर्तनले हाम्रो पारिस्थितिक प्रणाली, पूर्वाधार र मानव गतिशीलतामा अभूतपूर्व दबाब पारिरहेको छ।’
मन्त्री खनालले परम्परागत कूटनीतिलाई बन्द कोठाभित्र खेलिने शतरञ्जको खेलसँग तुलना गर्दै नयाँ पुस्ताको राज्य सञ्चालनलाई दोहोरी गीतको शैलीसँग तुलना गरे। उनको भनाइमा आधुनिक कूटनीतिमा विभिन्न पक्षबीचको संवाद, समन्वय र सहकार्य महत्त्वपूर्ण हुन्छ।
‘यदि परम्परागत कूटनीतिले विश्व मामिलालाई बन्द ढोका पछाडि खेलिने शतरञ्जको खेलजस्तै मान्थ्यो भने अर्को पुस्ताको राज्य सञ्चालन दोहोरी गीतजस्तै हो जहाँ फुर्तिला राष्ट्रहरूले स्पष्टता र उद्देश्यका साथ अझ सहज ढङ्गले तालमेल मिलाउन सक्छन्,’ उनले भने। उनले नागरिक समाज, व्यावसायिक नेतृत्व, स्थानीय आविष्कारक, विज्ञ समुदाय तथा डायस्पोरालाई समेटेर कूटनीति सञ्चालन गर्नुपर्ने बताए।
सीमापार चुनौती समाधानका लागि परम्परागत सरकारी संयन्त्र मात्रै पर्याप्त नहुने भन्दै सबै सरोकारवालाको सहभागिता आवश्यक रहेको उनको भनाइ थियो। ‘उदीयमान चुनौतीहरूले सीमाहरू नाघ्छन् र राष्ट्रिय सिमानाको सम्मान गर्न अस्वीकार गर्छन्। नागरिक समाजका अगुवा, व्यावसायिक नेतृत्वकर्ता, स्थानीय आविष्कारक, विज्ञ समुदाय र डायस्पोरा सञ्जाललाई संलग्न नगरी परराष्ट्र नीति चलाउन खोज्नु बन्दुकको लडाइँमा छुरा बोकेर जानुजस्तै हो,’ उनले भने।
नेपालजस्ता साना तथा सार्वभौम राष्ट्रको कूटनीतिक शक्ति भौतिक आकारमा नभई रणनीतिक स्पष्टता, संस्थागत विश्वसनीयता र सञ्जालको प्रभावकारी परिचालनमा निर्भर रहने मन्त्री खनालले बताए। नेटवर्क कूटनीति, प्रविधि कूटनीति र पूर्वानुमानित विज्ञान कूटनीतिलाई आधुनिक अन्तर्राष्ट्रिय सम्बन्धका महत्त्वपूर्ण आयामका रूपमा व्याख्या गर्दै उनले नेपालले पनि यी क्षेत्रमा क्षमता विकास गर्नुपर्ने बताए। उनले प्रविधि र कृत्रिम बुद्धिमत्ताको विकाससँगै एआई शासन, साइबर सुरक्षा, डेटा सार्वभौमसत्ता तथा डिजिटल सार्वजनिक पूर्वाधार अन्तर्राष्ट्रिय कूटनीतिका प्रमुख विषय बनेको बताए।
‘हाम्रा कूटनीतिज्ञहरू नीति र प्रविधिको संगममा धाराप्रवाह हुनुपर्छ। अवरोधहरू हाम्रो किनारामा आइपुग्नुअघि नै पूर्वानुमान गर्न इन्जिनियर, अनुसन्धानकर्ता र विश्वव्यापी संस्थाहरूसँग साझेदारी गर्नुपर्छ,’ उनले भने। जलवायु परिवर्तनलाई नेपालको कूटनीतिक प्राथमिकतासँग जोड्दै मन्त्री खनालले हिमालय क्षेत्रको संरक्षण, जलवायु न्याय र क्षेत्रीय ऊर्जा सहकार्यमा नेपालले प्रभावकारी भूमिका निर्वाह गर्न सक्ने बताए। हिमालय क्षेत्रले एसियाका करिब दुई अर्ब मानिसको नदी प्रणाली, कृषि तथा जीविकोपार्जनलाई सहयोग पुर्याइरहेको उल्लेख गर्दै उनले नेपालको जलवायु संवेदनशीलतालाई अन्तर्राष्ट्रिय मञ्चमा बलियोसँग प्रस्तुत गर्नुपर्ने धारणा राखे। नेपालको विशाल स्वच्छ जलविद्युत् सम्भावना क्षेत्रीय कार्बन उत्सर्जन न्यूनीकरण तथा ऊर्जा सुरक्षाका लागि महत्त्वपूर्ण हुन सक्ने उनको भनाइ थियो।
‘अर्को पुस्ताका कूटनीतिज्ञहरूले कठोर जलवायु विज्ञानलाई नैतिक वकालतसँग जोड्नुपर्छ। हाम्रा हिमाली समुदायहरूको जीवित यथार्थलाई विश्वव्यापी जलवायु न्याय र क्षेत्रीय ऊर्जा सहकार्यमा रूपान्तरण गर्नुपर्छ,’ उनले भने। वैदेशिक रोजगारी, मानव गतिशीलता र नेपाली डायस्पोराको भूमिकाबारे बोल्दै मन्त्री खनालले विदेशमा रहेका नेपाली नागरिकको अधिकार, सुरक्षा र मर्यादाको रक्षा राज्यको पहिलो दायित्व भएको बताए। उनले सीप साझेदारी, शैक्षिक आदानप्रदान तथा डायस्पोराको लगानी र ज्ञानलाई नेपालको रूपान्तरणसँग जोड्ने संरचना विकास गर्नुपर्ने बताए।
‘उनीहरूको अधिकार, सुरक्षा र मर्यादाको रक्षा गर्नु हाम्रो पहिलो कर्तव्य हो। तर हामीले अगाडि पनि हेर्नुपर्छ। संरचित सीप साझेदारी, शैक्षिक आदानप्रदान र त्यस्ता विश्वसनीय माध्यमहरू निर्माण गर्नुपर्छ जसबाट हाम्रो विश्वव्यापी डायस्पोराले नेपालको रूपान्तरणमा सह-लगानी गर्न सकोस्,’ उनले भने। खनालले नेपालको भूगोल, समाज, संस्कृति, समुदाय र राष्ट्रिय आकाङ्क्षाबारे युवा कूटनीतिज्ञहरूले गहिरो बुझाइ राख्नुपर्ने बताए।
आफ्नो देशलाई आत्मविश्वासका साथ अन्तर्राष्ट्रिय समुदायसमक्ष प्रस्तुत गर्न आत्मचेतना र देशको यथार्थबारे ज्ञान आवश्यक हुने उनको भनाइ थियो। नेपाललाई दक्षिण र मध्य एसियाको प्राचीन चौबाटो, गौतम बुद्धको जन्मभूमि, विविध सभ्यता, दर्शन र बहुलवादको धरोहरका रूपमा व्याख्या गर्दै मन्त्री खनालले नेपालको मौलिक पहिचानलाई कूटनीतिक संवादमा प्रभावकारी रूपमा प्रस्तुत गर्नुपर्ने बताए।
उनले नयाँ पुस्ताका कूटनीतिज्ञमा समालोचनात्मक सोच, चुस्तता, समानुभूति, सहकार्य र जीवनपर्यन्त सिकाइ गरी पाँच मानवीय क्षमता आवश्यक रहेको औँल्याए। प्रमाणमा आधारित निर्णय, संकटमा अनुकूलन, विभिन्न संस्कृतिबीच विश्वास निर्माण, संस्थागत सहकार्य तथा निरन्तर ज्ञान हासिल गर्ने क्षमताले भावी कूटनीतिज्ञलाई प्रभावकारी बनाउने उनको भनाइ थियो। कूटनीति र राष्ट्र निर्माणमा व्यक्तिगत नियन्त्रणभन्दा बाहिरका अनेक परिस्थितिले परिणाम निर्धारण गर्ने भन्दै मन्त्री खनालले नेपाली दर्शनको ‘निमित्त’ अवधारणालाई राष्ट्रसेवाको मार्गदर्शनका रूपमा प्रस्तुत गरे। ‘हामी प्रत्येक एक महत्त्वपूर्ण निमित्त हौँ। ठूलो समग्रको योगदान दिने हिस्सा। आफ्नो भाग पूर्ण रूपमा गर्नुहोस् र त्यसपछि आफ्नो पकड खुकुलो पार्नुहोस्,’ उनले भने।
त्यसैगरी उनले परिणामको मोहभन्दा कर्तव्य, इमानदारी, साहस, समर्पण र धैर्यका साथ काम गर्न युवा कूटनीतिज्ञलाई आग्रह गरे। सफलताको अहंकार र असफलताको निराशाबाट मुक्त भएर आफ्नो जिम्मेवारी पूरा गर्नुपर्ने उनको धारणा थियो। मन्त्री खनालले सरकार, अनुसन्धान, वकालत तथा अन्य क्षेत्रबाट योगदान गर्ने युवाहरू नेपालको व्यापक कूटनीतिक समुदायको हिस्सा रहेको उल्लेख गर्दै नेपालको अन्तर्राष्ट्रिय संलग्नताको भविष्यमा सक्रिय भूमिका निर्वाह गर्न आह्वान गरे।
‘हामी यस्तो कूटनीतिक समुदाय निर्माण गर्न सक्छौँ जसले नेपाललाई गहिरो रूपमा चिन्छ, आत्मविश्वासका साथ विश्वसँग संलग्न हुन्छ र हाम्रो राष्ट्रको सर्वोच्च आकांक्षाको योग्य माध्यम बन्छ,’ उनले भने।



