मधेश सरकारकारबाट बाहिरियो नेकपा, नयाँ गठबन्धन बनाउने कसरत

हिमाल प्रेस २० कार्तिक २०८३ १८:४५ | Friday, November 6, 2026
मधेश सरकारकारबाट बाहिरियो नेकपा, नयाँ गठबन्धन बनाउने कसरत

काठमाडौँ- नेपाली कांग्रेस नेतृत्वको मधेश प्रदेश सरकारबाट नेपाली कम्युनिस्ट पार्टी (नेकपा) पनि बाहिरिएको छ। शुक्रबार चार जना मन्त्रीले सामूहिक राजीनामा दिँदै नेकपा सरकारबाट बाहिरिएको हो।

नेकपाले कांग्रेस संसदीय दलका नेता कृष्णप्रसाद यादव नेतृत्वको सरकारलाई दिएको समर्थन पनि फिर्ता लिएको छ।

सरकारमा सहभागी नेकपाका चारै जना मन्त्रीले मुख्यमन्त्री यादवलाई संयुक्त राजीनामा बुझाएका छन्। त्यस्तै नेकपा संसदीय दलका नेता युवराज भट्टराईले सरकारबाट समर्थन लिएको पत्र प्रदेश प्रमुख डा.सुरेन्द्र लाभ कर्णलाई बुझाएका छन्।

यादव नेतृत्वको सरकारमा नेकपाका तर्फबाट संसदीय दलका नेता भट्टराई अर्थमन्त्री थिए। त्यस्तै फकिरा महतो गृह, जवाहरलाल कुशवाहा ऊर्जा र कनिश पटेल उद्योग मन्त्री थिए।

यसअघि नेकपा एमाले मन्त्रीहरूलाई फिर्ता बोलाउँदै ३० असोजमा सरकारलाई दिएको समर्थन फिर्ता लिएको छ।

एमाले र नेकपा दुवैले समर्थन फिर्ता लिएपछि मुख्यमन्त्री यादवलाई सरकार जोगाउन सकस परेको छ।

यादव गत वर्ष मंसिर १९ गते संविधानको धारा १६८ (२) बमोजिम मुख्यमन्त्री बनेका थिए। उनलाई मुख्यमन्त्री नियुक्त गर्न कांग्रेसका २२, जसपा नेपालका १८, जनमत पार्टीका १३, माओवादी केन्द्रका ९, तत्कालीन लोसपाका ८ र तत्कालीन एकीकृत समाजवादीका ७ सांसदले समर्थन जनाएको थियो।

तर, आफ्नै मन्त्री सरकारमा सहभागी रहेको जनमत पार्टीले गएको वैशाख २१ गते सरकारबाट समर्थन फिर्ता लिएको थियो। सरकारमा सहभागी दल जनमतले समर्थन फिर्ता लिएपछि ८ जेठमा मुख्यमन्त्री यादवले विश्वासको मत लिएका थिए।

विश्वासको मत लिनुअघि उनले सत्तागठबन्धन फेरेका थिए। सरकारमा सहभागी जसपा नेपाललाई बाहिर राखेर एमाले र नेकपालाई सामेल गरेर यादवले मन्त्रिमण्डल पुनर्गठन गरेका थिए।

त्योबेला जसपा नेपालले मुख्यमन्त्री यादव नेतृत्वको सरकारलाई विश्वासको मत दिन ह्विप जारी गरेको थियो। तर, उनले गठबन्धन फेरेपछि जसपा नेपाल विपक्षी कित्तामा उभिएको थियो।

जसपा नेपाललाई मुख्यमन्त्री यादव आफैँले सरकारबाट बाहिर निकालेको र एमालेका साथै नेकपा र जनमतले समर्थन फिर्ता लिइसकेका कारण सरकार संकटमा पर्ने निश्चित जस्तै देखिएको छ।

एमाले-जसपा नेपाल-नेकपाको गठबन्धन बनाउने तयारी

मुख्यमन्त्री यादव नेतृत्वको सरकार संकटमा परेसँगै मधेशमा नयाँ सरकार गठनका लागि गृहकार्य सुरू भएको छ। नयाँ सरकार गठनका लागि जसपा नेपाल, एमाले र नेकपाले सत्तासमीकरण गर्ने तयारी गरेको हो।

लोसपासँग एकीकरण भइसकेपछि २७ सांसदसहित मधेशमा जसपा नेपाल सबैभन्दा ठूलो दल बनेको छ। त्यस्तै नेकपा एमालेका २३ र नेकपाका १५ सांसद छन्। त्यस्तै कांग्रेसका २२ र जनमत पार्टीका १२ सांसद छन्।

१०७ सदस्यीय प्रदेशसभामा सरकार बनाउन ५४ सांसद आवश्यक हुन्छ। यी तीन दल मिले सरकार गठनका लागि बहुमत पु¥याउन पर्याप्त संख्या देखिएको छ।

कांग्रेस र जनमतलाई बाहिर राखेर फेरि जसपा नेपाललाई नेतृत्व दिने गरी सत्तासमीकरण बनाउने तयारी भइरहेको बताइएको छ। जसपा नेपाल प्रदेश संसदीय दलका नेता समेत रहेका पूर्वमुख्यमन्त्री सरोजकुमार यादवलाई फेरि मुख्यमन्त्री बनाउने गरी तीन दलबीच छलफल अगाडि बढेको नेताहरूले जनाएका छन्।

एमाले सरकारबाट बाहिरिएको भोलिपल्टै जसपा नेपालका अध्यक्ष उपेन्द्र यादव पूर्वमुख्यमन्त्री सरोजकुमार यादवलाई लिएर गुन्डु पुगेर एमाले अध्यक्ष केपी शर्मा ओलीसँग भेटवार्ता गरेका थिए।

यद्यपि अध्यक्ष यादवको सचिवालयले फरक प्रसंगमा लिइएको तस्बिरलाई सरकार गठनसम्बन्धी सन्दर्भ जोडेर सञ्चारमाध्यमले समाचार सम्प्रेषण गरेको भन्दै आपत्ति जनाएको थियो। उनको सचिवालयले एमालेसँग सत्ता सहकार्य गर्ने कुनै नीति नरहेको र तत्काल त्यसको सम्भावना समेत नरहेको उल्लेख गरेको थियो।

प्रकाशित: २० कार्तिक २०८३ १८:४५ | Friday, November 6, 2026

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

10 + 15 =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast