प्रहरी समायोजन प्रक्रिया अगाडि बढाउन गृहमन्त्रीसँग मुख्यमन्त्रीको आग्रह

हिमाल प्रेस २७ साउन २०८३ १८:०३ | Wednesday, August 12, 2026
12
SHARES
प्रहरी समायोजन प्रक्रिया अगाडि बढाउन गृहमन्त्रीसँग मुख्यमन्त्रीको आग्रह

काठमाडौँ- मधेश प्रदेशका मुख्यमन्त्री कृष्णप्रसाद यादवले प्रहरी समायोजन प्रक्रिया अगाडि बढाउन संघीय सरकारलाई आग्रह गरेका छन्।

बुधबार सिंहदरबारस्थित गृह मन्त्रालयमा गृहमन्त्री सुधन गुरुङसँग भएको छलफलका क्रममा मुख्यमन्त्री यादवले यस्तो आग्रह गरेका हुन्।

प्रदेशमातहत प्रहरी रहने व्यवस्था संविधानमै रहेकोले त्यहीअनुअरूप प्रहरी समायोजन प्रक्रिया अगाडि बढाइदिन मुख्यमन्त्री यादवले गृहमन्त्री गुरुङसँग आग्रह गरे।

‘संविधानले नै प्रदेश प्रहरीको व्यवस्था गरेको छ, चुनावअघि जनकपुरको सम्बोधनमा प्रधानमन्त्रीले पनि प्रदेशलाई बलियो बनाउने वाचा गर्नुभएको थियो,’ गृहमन्त्रीसमक्ष राखेको भनाइ उद्धृत गर्दै मुख्यमन्त्री यादवले हिमालप्रेससँग भने,‘त्यसैले चाँडै प्रहरी समायोजनको प्रक्रिया अगाडि बढाइदिनुस्। यसो गर्दा प्रदेश सरकारले पनि शान्ति सुरक्षामा सहयोग पुर्‍याउने छ।’

जवाफमा गृहमन्त्री गुरुङले प्रहरी समायोजन प्रक्रिया अगाडि बढाउन केही कानुन संशोधन गर्नुपर्ने र त्यसका लागि काम भइरहेको जानकारी गराएका थिए। गृहमन्त्री गुरुङसँग समग्र मधेश प्रदेशको शान्ति सुरक्षाको व्यवस्थाबारे विस्तृत ढंगबाट छलफल भएको उनले बताए।

यसअघि मधेश प्रदेशका गृह, सञ्चार तथा कानुनमन्त्री फकिरा महतोले मधेश प्रदेशसभाबाट पारित भएको मधेश प्रहरी ऐन तथा निजामती ऐनसहित प्रहरी समायोजनका लागि भएका प्रयासका विषयमा जानकारीसहितको कागजातहरू गृहमन्त्री गुरुङलाई हस्तान्तरण गरेका थिए।

प्रदेश सरकारले प्रदेश प्रहरी भर्नाका लागि चालु आर्थिक वर्षमा करिब तीन अर्ब रुपैयाँ विनियोजन गरेको उनले गृहमन्त्री गुरुङलाई जानकरी गराएका थिए।

त्यस्तै बाढीका कारण मधेश प्रदेशमा भइरहेको क्षति रोक्ने विषयमा समेत छलफल भएको मुख्यमन्त्री यादवले बताए। मधेश प्रदेशमा पर्यटनको सम्भावनाका विषयमा पनि छलफल भएको उनको भनाइ छ।

‘मधेश प्रदेशमा पर्यटनको प्रचुर सम्भावना छ भनेर उहाँको चासो भयो,’ यादवले भने,‘यस विषयमा प्रधानमन्त्रीज्यूसँग छलफल गर्ने कुरा भएको छ, समय मिलाएर छलफल हुन्छ, छलफलमा म पनि हुन्छु।’

मुख्यमन्त्री यादवले जनकपुर चुरोट कारखाना परिसर (हाल मधेश भवन) प्रदेश सरकारलाई जिम्मा लगाउन पनि गृहमन्त्रीसँग आग्रह गरेका छन्। स्थायी प्रकृतिको संरचना निर्माण गर्न नसकेको भन्दै चरोट कारखाना परिसर प्रदेश सरकारलाई जिम्मा लगाउन आग्रह गरेको उनको भनाइ छ।

मुख्यमन्त्री यादवले भौतिक पूर्वाधार विकासमन्त्री सुनिल लम्सालसँग पनि छलफल गरेका छन्। छलफलका क्रममा धनुषा र सिरहा जोड्ने कमला पुल निर्माणको विषयमा दुवै जनाबीच कुराकानी भएको छ।

मन्त्री लम्सालले तीन महिनाभित्र कमला पुल निर्माण भएर सञ्चालनमा आउने जानकारी गराएको मुख्यमन्त्री यादवले बताए।

प्रकाशित: २७ साउन २०८३ १८:०३ | Wednesday, August 12, 2026

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

20 + sixteen =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast