मधेशका मुख्यमन्त्रीले आज लिँदैछन् विश्वासको मत, के पाउँलान्?

हिमाल प्रेस २८ कार्तिक २०८३ ८:२१ | Saturday, November 14, 2026
8
SHARES
मधेशका मुख्यमन्त्रीले आज लिँदैछन् विश्वासको मत, के पाउँलान्?

काठमाडौँ- मधेश प्रदेशका मुख्यमन्त्री कृष्णप्रसाद यादवले आज प्रदेशसभाबाट विश्वासको मत लिने भएका छन्। विश्वासको मत लिने प्रयोजनका लागि सभामुख रामअशिष यादवले शनिबार प्रदेशसभा बैठक आह्वान गरेका छन् ।

सभामुख यादवका अनुसार प्रदेशसभा बैठकको कार्यसूची तय गर्न आज नै कार्यव्यवस्था परामर्श समितिको बैठक बस्नेछ। उक्त बैठकले मुख्यमन्त्रीले विश्वासको मत लिने प्रस्तावसहित प्रदेशसभा बैठकको कार्यसूची निर्धारण गर्नेछ।

सरकारमा सहभागी नेकपा एमाले र नेपाली कम्युनिष्ट पार्टीले समर्थन फिर्ता लिएपछि मुख्यमन्त्री यादव विश्वासको मत लिनुपर्ने अवस्थामा पुगेका हुन्। उनले विश्वासको मत लिने प्रयोजनका लागि बुधबार नै प्रदेशसभा सचिवालयमा औपचारिक पत्र पठाइसकेका छन्।

विश्वासको मत प्राप्त गर्न आवश्यक बहुमत जुटाउने प्रयासमा मुख्यमन्त्री यादव विभिन्न राजनीतिक दलका नेताहरूसँग छलफलमा छन्। मतदान हुनुअघिसम्म सहमतिको प्रयास जारी रहने उनले बताएका छन्।

नेपाली कांग्रेस नेतृत्वको वर्तमान सरकारलाई समर्थन गर्दै आएका एमालेका चार मन्त्रीले गत असोज २५ गते सामूहिक राजीनामा दिँदै समर्थन फिर्ता लिएका थिए। त्यसपछि सरकारमा सहभागी नेपाली कम्युनिष्ट पार्टीका चार मन्त्रीले कात्तिक २० गते राजीनामा दिँदै समर्थन फिर्ता लिएका थिए।

दुई प्रमुख सहयोगी दलले समर्थन फिर्ता लिएपछि सरकार अल्पमतमा परेको छ । १०७ सदस्यीय मधेस प्रदेशसभामा सरकार गठन तथा विश्वासको मत प्राप्त गर्न कम्तीमा ५४ सांसदको समर्थन आवश्यक पर्छ।

प्रदेशसभामा नेपाली कांग्रेसका २२, नेकपा एमालेका २३, जनता समाजवादी पार्टी नेपालका २७, नेपाली कम्युनिष्ट पार्टीका १५ र जनमत पार्टीका १२ सांसद छन्। सङ्घीय समाजवादी पार्टी र राष्ट्रिय प्रजातन्त्र पार्टीका एक–एक सांसद छन्।

कांग्रेसका २२ सांसद मात्रै रहेकाले मुख्यमन्त्री यादवलाई विश्वासको मत प्राप्त गर्न थप ३२ सांसदको समर्थन आवश्यक देखिन्छ।

प्रकाशित: २८ कार्तिक २०८३ ८:२१ | Saturday, November 14, 2026

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

17 − 5 =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast