मधेशमा मन्त्रिपरिषद् विस्तार

हिमाल प्रेस १२ जेठ २०८३ २०:१३ | Tuesday, May 26, 2026
12
SHARES
मधेशमा मन्त्रिपरिषद् विस्तार

काठमाडौँ- मधेशका मुख्यमन्त्री कृष्णप्रसाद यादवले मन्त्रिपरिषद् विस्तार गरेका छन्।

उनले नेपाली कांग्रेसका एक, नेकपा एमालेका तीन र नेपाली कम्युनिस्ट पार्टी (नेकपा) का एक जनालाई सरकारमा सामेल गराउँदै मन्त्रिपरिषद् विस्तार गरेका हुन्।

कांग्रेसबाट नागेन्द्र साहले स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको जिम्मेवारी पाएका छन्। यसअघि कांग्रेसकै जंगीलाल रायले यो मन्त्रालय सम्हालिरहेका थिए। रायलाई पदमुक्त गरी मुख्यमन्त्री यादवले साहलाई स्वास्थ्य तथा जनसंख्यामन्त्री बनाएका हुन्।

त्यस्तै एमालेका तर्फबाट शारदा देवी थापा श्रम तथा यातायात, लखन दास तत्मा खेलकुद तथा समाज कल्याण र मनोजकुमार सिंह शिक्षा तथा संस्कृतिमन्त्री बनेका छन्।

यसअघि विनाविभागीयमन्त्रीको शपथ लिएका महम्मद समिरलाई भौतिक पूर्वाधार विकास मन्त्रालयको जिम्मेवारी तोकिएको छ।

नेकपाका युवराज भट्टराईलाई अर्थ मन्त्रालयको जिम्मेवारी दिइएको छ।

नवनियुक्त मन्त्रीहरूले मंगलबार पद तथा गोपनीयताको शपथ लिएका छन्। प्रदेश प्रमुख कार्यालयमा आयोजित एक समारोहका बीच प्रदेश प्रमुख सुरेन्द्र लाभ कर्णले नवनियुक्त मन्त्रीहरूलाई शपथ दिलाएका हुन्।

कांग्रेस नेतृत्वको सरकारमा एमाले र नेकपासहितको नयाँ गठबन्धन बनेपछि मुख्यमन्त्री यादवले मन्त्रिपरिषद् फेरबदल गरेका हुन्। मधेश प्रदेश सरकारमा मुख्यमन्त्रीसहित कांग्रेसका तीन, एमालेका चार र नेकपाका चार मन्त्री भएका छन्। कांग्रेसका तर्फबाट श्यामप्रसाद पटेल (भूमि व्यवस्था, कृषि तथा सहकारी) र शंकरप्रसाद चौधरी (वन तथा वातावरण) मन्त्रीका रूपमा यसअघिदेखि सरकारमा सहभागी छन्।

त्यस्तै नेकपाका फकिरा महतो (गृह, सञ्चार तथा कानुन), कनिश पटेल (उद्योग, वाणिज्य तथा पर्यटन) र जवाहरलाल कुशवाहा (उर्जा, सिँचाई तथा खानेपानी) मन्त्रालय सम्हालेका छन्।

सरकारमा सहभागी जनमत पार्टीले समर्थन फिर्ता लिएपछि मधेश प्रदेशमा कांग्रेस–एमाले–नेकपाको गठबन्धन बनेको हो। नयाँ गठबन्धन बनेसँगै यसअघि सरकारमा सहभागी रहेको जनता समाजवादी पार्टी (जसपा) नेपाल प्रमुख विपक्षी दल बनेको छ।

कांग्रेस, एमाले र नेकपाबीच गठबन्धन बने पनि मन्त्री बाँडफाँटमा सहमति जुट्न नसकेपछि मन्त्रिपरिषद् विस्तार दुई दिन धकेलिएको थियो। मुख्यमन्त्री यादवले आइतबार नै मन्त्रिपरिषद् विस्तार गर्ने तयारी गरे पनि मन्त्रालय बाँडफाँटमा दलहरूबीच आन्तरिक सहमति जुट्न सकेको थिएन।

दलहरूले सरकारमा पठाउने मन्त्रीहरूबारे टुंगो लगाएसँगै मंगलबार नवनियुक्त मन्त्रीहरूको शपथग्रहण भएको हो। एमालेका तर्फबाट सिफारिस भएका मन्त्रीहरू शपथग्रहणका लागि सोमबार प्रदेश प्रमुख कार्यालय पुगे पनि शपथ नै नलिई फर्र्किएका थिए।

यसअघि स्वास्थ्यमन्त्री रहेका जंगीलाल रायलाई हटाउने विषयमा कांग्रेसभित्र विवाद सिर्जना भएको थियो भने नेकपाबाट अर्थमन्त्री टुंग्याउने विषयमा सहमति जुट्न ढिलाइ भएको थियो।

प्रकाशित: १२ जेठ २०८३ २०:१३ | Tuesday, May 26, 2026

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

nineteen − six =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast