मधेशका मुख्यमन्त्रीले विश्वासको मत लिँदै, जोगिएला सरकार?

हिमाल प्रेस ७ जेठ २०८३ १९:०३ | Thursday, May 21, 2026
10
SHARES
मधेशका मुख्यमन्त्रीले विश्वासको मत लिँदै, जोगिएला सरकार? मधेश प्रदेशका मुख्यमन्त्री कृष्णप्रसाद यादव

काठमाडौँ- मधेश प्रदेशका मुख्यमन्त्री कृष्णप्रसाद यादवले शुक्रबार विश्वासको मत लिने तयारी गरेका छन्। जनमत पार्टीले समर्थन फिर्ता लिएपछि यादवले विश्वासको मत लिन लागेका हुन्।

यसअघि उनले जेठ १ गते नै विश्वासको मत लिने तयारी गरे पनि सत्ता साझेदार दलहरूको प्रस्तावमा शुक्रबार (जेठ ९ गते) का लागि सारिएको थियो।

संविधानको धारा १८८ को उपधारा २ मा ‘मुख्यमन्त्रीले प्रतिनिधित्व गर्ने दल विभाजन भएमा वा प्रदेश सरकारमा सहभागी दलले आफ्नो समर्थन फिर्ता लिएमा ३० दिनभित्र मुख्यमन्त्रीले विश्वासको मतका लागि प्रदेशसभासमक्ष प्रस्ताव राख्नुपर्नेछ’ उल्लेख छ।

नेपाली कांग्रेस संसदीय दलका नेता यादव नेतृत्वको सरकारमा सम्मलित जनमत पार्टीले वैशाख २१ गते समर्थन फिर्ता लिएको थियो। जनमत पार्टीले समर्थन फिर्ता लिएसँगै प्रदेशमा नयाँ सरकार बनाउन फेरि उथलपुथल हुने अनुमान गरिएको थियो। जसपा नेपालकै कतिपय नेता आफ्नो नेतृत्वमा सरकार बनाउने कसरतमा समेत जुटेका थिए।

तर, प्रदेशसभाको सबैभन्दा ठूलो दल (लोसपासँग एकीकरणपछि) जनता समाजवादी पार्टी (जसपा) नेपालले सरकारलाई दिएको समर्थनलाई निरन्तरता दिने निर्णय गरेसँगै यादव नेतृत्वको सरकारमाथिको संकट टरेको छ।

लोकतान्त्रिक समाजवादी पार्टी (लोसपा) सँग भएको एकीकरणपछि पहिलोपटक बिहीबार बसेको जसपा नेपालको संसदीय दलको बैठकले कांग्रेस नेतृत्वको सरकारलाई दिएको समर्थनलाई निरन्तरता दिने निर्णय गरेको हो।

पार्टी एकीकरणपछि संसदीय दलको नेता समेत चयन गर्ने विषयमा बसेको जसपा नेपालको बैठकले यादव नेतृत्वको सरकारलाई दिएको समर्थन लाई निरन्तरता दिने निर्णय गरेको हो।

जसपा नेपालका प्रदेश सांसद उपेन्द्र महतोले संसदीय दलको बैठकले मुख्यमन्त्री यादव नेतृत्वको सरकारलाई समर्थन दिने निर्णय गरेको जानकारी दिए।

१०७ सदस्यीय प्रदेशसभामा बहुमतको संख्या पुर्‍याउन ५४ सांसदको समर्थन आवश्यक हुन्छ। यद्यपि यतिबेला प्रदेशसभामा सभामुखसहित जम्मा १०२ सांसदमात्रै छन्। जसपा नेपालका प्रदेश सांसद रामअशिष यादव सभामुख छन् भने यसअघि सभामुख रहेका नेकपा एमालेका रामचन्द्र मण्डल प्रतिनिधिसभा चुनाव लडेपछि उनको पद रिक्त छ। त्यस्तै नेकपाका भरत साह र रहबर अन्सारी (हाल रास्वपा) तथा जनमत पार्टीका सतिशकुमार सिंह राजीनामा गरेर प्रतिनिधिसभा चुनावमा भाग लिएपछि प्रदेशसभा पद रिक्त छ। सई थमन विक हत्या घटनामा दोषी ठहर भएका लोसपका अभिराम शर्मा प्रहरीको फरार सूचीमा छन्।

मुख्यमन्त्री यादवको पक्षमा कांग्रेसका २२, जसपा नेपालका २६ (लोसपाका ८ सहित) र नेपाली कम्युनिस्ट पार्टी (माओवादी ७ र नेकपाएस ७) १४ गरी ६२ सांसदको समर्थन हुने देखिन्छ। त्यस्तै सरकारमा सामेल नभए पनि नेकपा एमालेले यसअघि दिएको समर्थन कायमै राख्ने बताइएको छ।

कांग्रेस, जसपा नेपाल, नेकपालगायतका दलहरू एकै ठाउँमा उभिएपछि प्रदेशसभामा अब जनमत पार्टी एक्लिने देखिएको छ। यसअघि आफ्नै पार्टी नेतृत्वको सरकार ढाल्न भूमिका खेलेका जमत पार्टीका अध्यक्ष सीके राउतले यसपालि समर्थन फिर्ता लिन लगाएर पार्टीलाई विपक्षीकित्तामा पुर्‍याएका छन्।

जसपाले छान्यो दलको नेता

लोसपासँग पार्टी एकीकरण भएपछि जसपा नेपालले संसदीय दलको नेतासमेत चयन गरेको छ। बुधबार र बिहीबार बसेको बैठकले एकीकृत दलको नेता चयन गरेको हो।

बैठकले एकीकृत पार्टी जसपा नेपालको संसदीय दलको नेतामा पूर्वमुख्यमन्त्री सरोजकुमार यादवलाई चयन गर्ने निर्णय गरेको उनले बताए। यसअघि पनि उनी जसपा नेपालकै संसदीय दलको नेता थिए। त्यस्तै लोसपा नेपालका संसदीय दलका नेता जयनुल राइन थिए।

पार्टी एकीकरणपछि दलको नेतासम्बन्धी पुनर्विचार गर्न जसपा नेपालका यसअघिका संसदीय दलका नेता यादवले प्रस्ताव राखेका थिए। बैठकले उनलाई दलको नेतामा निरन्तरता दिने निर्णय गरेको नेताहरूले जनाएका छन्।

यसअघि लोसपा संसदीय दलका नेता रहेका जयनुल राईनले पूर्वमुख्यमन्त्री सरोजकुमार यादवलाई संसदीय दलको नेता चयन गर्ने सर्वसम्मत निर्णय भएको जानकारी दिए। तत्कालका लागि उनलाई नै दलको नेतामा निरन्तरता दिने निर्णय भएको राईनले बताए। ‘उहाँलाई नै दलको नेतामा निरन्तरता दिने निर्णय भएको छ। दल एकीकरण भइसकेपछि दुई जना दलको नेता त राख्न मिलेन। बैठकले अहिले उहाँ (सरोजकुमार यादव) लाई नै दलको नेतामा निरन्तरता दिने निर्णय गरेको छ,’ राईनले हिमालप्रेससँग भने।

जसपा नेपालको संसदीय दलका नेताका लागि पूर्वमुख्यमन्त्री सरोजकुमार यादवका साथै अर्का पूर्वमुख्यमन्त्रीरू लालबाबु राउत र जितेन्द्र सोनल आकांक्षी देखिएका थिए।

मधेशमा यसरी अस्थिरता निम्त्याउँदै छन् सीके

प्रकाशित: ७ जेठ २०८३ १९:०३ | Thursday, May 21, 2026

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

4 × one =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast