सेख हसिना। फाइल तस्बिर : एपी
काठमाडौँ- बंगलादेशी पूर्वप्रधानमन्त्री सेख हसिनाले डिसेम्बर १६ मा स्वदेश फर्किने योजना सार्वजनिक गरेकी छन्। उनी पदबाट अपदस्थ भएपछि दुई वर्षभन्दा लामो समयदेखि भारतमा निर्वासनमा छिन्।
डिसेम्बर १६ बंगलादेशको सन् १९७१ मा पाकिस्तानसँगको मुक्ति युद्ध अन्त्य भएको वार्षिकोत्सव हो। समाचार एजेन्सी रोयटर्सका अनुसार हसिनाले स्वदेश फर्किने निश्चित मिति पहिलोपटक सार्वजनिक गरेकी हुन्। उनले यसै महिनाको प्रारम्भमा नयाँ राहदानी तथा अन्य कागजातका लागि पहल गरेपछि बंगलादेश हिंसा बढेको छ। उनको स्वदेश फिर्तीको घोषणापछि बंगलादेशमा राजनीतिक तथा कानुनी तनाव थप चर्काउन सक्ने देखिएको छ।
नयाँदिल्ली भागेपछि केही महिनामै रद्द गरिएको राहदानीलगायत कागजात पुनः प्राप्त गर्न पहल गर्नुका साथै हसिनाले बंगलादेश सरकारलाई राष्ट्रिय ध्वजावाहक विमान बिमान बंगलादेश एयरलाइन्समार्फत स्वदेश फर्कने व्यवस्था मिलाउन आग्रह गरेकी छन्।
‘५ अगस्ट २०२४ मा सेख हसिनालाई बंगलादेशी विमानमार्फत भारत ल्याइएको थियो। अब उनले दिल्लीबाट ढाका फर्किने हवाई व्यवस्था मिलाउन सरकारसँग आग्रह गरेकी छन्,’ उनका प्रवक्ता सैयद मोजम्मेल अलीले विज्ञप्तिमा भनेका छन्।
‘यस्तो परिस्थितिमा संविधानविपरीत उनलाई निर्वासनमा पठाइएको थियो। अब डिसेम्बर १६ अर्थात् विजय दिवसमा उनलाई बंगलादेश फर्किने व्यवस्था मिलाउनु सरकारको जिम्मेवारी हो,’ उनले भनेका छन्।
बंगलादेश सरकारले भने उनलाई भारतले सुपुर्दगी गरेपछि मात्रै स्वदेश फर्किन सक्ने अडान दोहोर्याएको छ। विद्यार्थी नेतृत्वको आन्दोलन दबाउन घातक बल प्रयोग गर्न आदेश दिएको अभियोगमा गत वर्ष बंगलादेशी अदालतले हसिनालाई अनुपस्थितिमै मृत्युदण्ड सुनाएको थियो। हसिनाले निर्वासनबाटै ती आरोप अस्वीकार गर्दै आएकी छन्।
‘हसिना दोषी ठहरिएकी अपराधी हुन्, फरार आतंकवादी हुन्,’ बंगलादेशका विदेश मामिलासम्बन्धी राज्यमन्त्री हुमायुन कबिरले भने।
‘उनी सुपुर्दगी सन्धिअन्तर्गत मात्रै स्वदेश फर्किन सक्छिन्। उनलाई हतकडी लगाएर र कडा निगरानीमा ल्याउनुपर्नेछ,’ उनले भने।
भारतको विदेश मन्त्रालयले यस विषयमा कुनै धारणा सार्वजनिक गरेको छैन।
सरकारी विमानमार्फत फर्काउने हसिनाको आग्रहबारे कबिरले भने, ‘बंगलादेशले यस्तो भ्रमपूर्ण आग्रहलाई स्वीकार गर्ने छैन।’
हसिनालाई मृत्युदण्ड सुनाएको बंगलादेशको अन्तर्राष्ट्रिय अपराध न्यायाधिकरणका मुख्य अभियोजक अमिनुल इस्लामले दोषी ठहर भई फरार रहेकी व्यक्तिले सरकारले स्वदेश फर्किने व्यवस्था मिलाइदिन्छ भन्ने अपेक्षा गर्नु अनुचित भएको बताए।
संयुक्त राष्ट्रसंघका अनुसार हसिनालाई सत्ताबाट हटाउने आन्दोलन तथा हिंसाका क्रममा एक हजार चार सय मानिस मारिएका थिए।



