भारतमा स्वनिर्वासित बंगलादेशकी पूर्वप्रधानमन्त्री सेख हसिना। फाइल तस्बिर
काठमाडौँ- भारतमा स्वनिर्वासनमा रहेकी बंगलादेशकी पूर्वप्रधानमन्त्री सेख हसिनाले स्वदेश फर्किन नयाँ राहदानी र राष्ट्रिय परिचयपत्र (एनआईडी) उपलब्ध गराउन सोमबार अनुरोध गरेकी छन्। सन् २०२४ मा बंगलादेश छाडेर भागेपछि उनले पहिलोपटक यस्तो औपचारिक पहल गरेको अन्तरराष्ट्रिय सञ्चारमाध्यमले जनाएका छन्।
हसिनाको यो अनुरोधले आगामी डिसेम्बरमा बंगलादेश फर्किने उनको योजनालाई कार्यान्वयन गर्ने दिशामा अहिलेसम्मकै स्पष्ट कदमका रूपमा लिइएको छ। दुई वर्षभन्दा बढी समयअघि भएको हिंसात्मक जनविद्रोहले उनको लामो शासन अन्त्य गरेको थियो। उनी फर्किने तयारीले प्रतिबन्धित अवस्थामा रहेको उनको दलसँग जोडिएको मुलुकको राजनीतिक र कानुनी तनाव फेरि चर्किने सम्भावना बढाएको छ।
उनले आफू स्वदेश फर्किएर अदालतसमक्ष आत्मसमर्पण गर्ने योजना रहेको रोयटर्सलाई बताएकी छन्। उनका सहयोगीहरूले पनि विभिन्न औपचारिक प्रक्रिया पूरा भएपछि फर्किने मिति सार्वजनिक गरिने सोमबार बताएका छन्।
विद्यार्थी नेतृत्वको आन्दोलन दबाउन आदेश दिएको आरोपमा बंगलादेशको युद्ध अपराधसम्बन्धी अदालतले गत वर्ष नोभेम्बरमा उनको अनुपस्थितिमै मृत्युदण्डको सजाय सुनाएको थियो तर निर्वासनमा रहेकी हसिनाले आफूमाथिका आरोप अस्वीकार गर्दै आएकी छन्।
लन्डनस्थित म्याट्रिक्स चेम्बर्सका हसिनाका वकिलहरूले दिल्लीस्थित बंगलादेशी दूतावासकी कार्यवाहक उच्चायुक्त प्रीति रहमानलाई लेखेको पत्रमा भनिएको छ, ‘अन्तरिम सरकार र अन्य निकायले उहाँको विद्यमान बंगलादेशी राहदानी तथा राष्ट्रिय परिचयपत्र (एनआईडी) खारेज गरेको समाचार सार्वजनिक भएको सन्दर्भमा हाम्री पक्षधरका लागि नयाँ बंगलादेशी राहदानी र राष्ट्रिय परिचयपत्र जारी गर्न आवश्यक प्रक्रिया अघि बढाइदिन विनम्र अनुरोध गर्दछौँ।’
पत्रमा हसिनाको बंगलादेशी नागरिकताका आधारमा तथा अन्तर्राष्ट्रिय मानवअधिकारसम्बन्धी दस्ताबेजबाट सिर्जित दायित्व अनुरूप आवेदन प्रक्रिया शीघ्र अघि बढाउन आग्रह गरिएको छ।
दिल्लीस्थित रहमान र ढाकामा रहेका प्रधानमन्त्री तारिक रहमानका प्रवक्ताहरूले यस विषयमा टिप्पणीका लागि गरिएका अनुरोधको तत्काल जवाफ दिएका छैनन्।
हसिनाको दल अवामी लिग प्रतिबन्धित हुनुअघि बंगलादेशको सबैभन्दा ठूलो राजनीतिक दल थियो। उनको सत्ताच्युतपछि दलका धेरै नेता तथा कार्यकर्ता जेलमा छन् भने कतिपय भारत वा अन्य मुलुकमा स्वनिर्वासनमा छन्।
विभिन्न कार्यकालमा गरी २० वर्ष प्रधानमन्त्रीका रूपमा बंगलादेशमा शासन गरेकी हसिनालाई अझै पनि जनसङ्ख्याको एउटा हिस्साको समर्थन छ। उनी स्वदेश फर्किएमा दुई वर्षभन्दा लामो राजनीतिक उथलपुथलपछि स्थायित्व कायम गर्ने प्रयासमा रहेको ढाका सरकारसामु राजनीतिक विभाजन थप चर्किन सक्छ।
अर्कोतर्फ हसिनालाई शरण दिएपछि भारतसँग बिग्रिएको बंगलादेशको सम्बन्ध सुधार्न उनको स्वदेश फिर्तीले सहयोग पुर्याउन सक्ने सम्भावना पनि छ। हसिनालाई भारतले शरण दिएपछि दुई देशबीचको सम्बन्धमा उल्लेख्य गिरावट आएको थियो।



