एजेन्सी- बंगलादेशमा फेरि द्वन्द्वको अवस्था आएको छ। पूर्वप्रधानमन्त्री शेख हसिनाको स्वदेश फिर्तीको विषयलाई उठाएर उनको पार्टी प्रतिबन्धित अवामी लिगले आह्वान गरेको देशव्यापी बन्द अशान्ति मच्चाइरहेको छ। हसिनाका कार्यकर्ताले विभिन्न ठाउँमा बम विस्फोट, आगजनी र तोडफोडका घटना घटाएका छन्।
बुधबार राति चट्टोग्रामको पञ्चलाइश क्षेत्रमा रहेको नोबेल पुरस्कार विजेता तथा पूर्वअन्तरिम सरकार प्रमुख मोहम्मद युनुसको घरमा आगजनी गरेका छन्।
नियमित गस्तीमा रहेका प्रहरीले आगलागी देखेपछि घरभित्र प्रवेश गरी आगो निभाएका थिए । उक्त कोठामा पुराना फर्निचर र कपडा राखिएको बताइएको छ । घटनापछि प्रहरीले घर आसपासको सुरक्षा व्यवस्था कडा बनाएको छ भने आगलागीको कारणबारे अनुसन्धान गरिरहेको छ । यद्यपि घटनामा कुनै राजनीतिक सङ्गठनको संलग्नता पुष्टि भएको छैन ।
पछिल्ला केही दिनमा बंगलादेशका ६४ मध्ये कम्तीमा २८ जिल्लामा कच्चा बम विस्फोट र आगजनीका घटना भएको प्रारम्भिक विवरणमा उल्लेख छ । राजधानी ढाकामा पनि विभिन्न स्थानमा विस्फोट भएका छन् । सवारीसाधन तथा सम्पत्तिमा क्षति पुगेको छ।
अन्य जिल्लामा पनि हिंसात्मक घटना भएका छन् । नारेलमा राजनीतिक र्यालीमाथि आक्रमण हुँदा स्थानीय राजनीतिक नेताहरूको मृत्यु भएको बताइएको छ । फरिदपुर र पिरोजपुरमा भएका छुट्टाछुट्टै घटनामा पनि मानवीय क्षति भएको छ । पिरोजपुरमा बसमा आगजनी भएपछि एक यातायात मजदुरको मृत्यु भएको प्रारम्भिक विवरणमा उल्लेख छ ।
राजनीतिक तनाव बढ्दै गएपछि ढाकासहित संवेदनशील क्षेत्रमा सुरक्षा व्यवस्था कडा पारिएको छ । सम्भावित झडप र हिंसा रोक्न प्रहरीले तथा अर्धसैनिक बलले विभिन्न स्थानमा सुरक्षा तैनाथी बढाएका छन् ।



