त्रिविको चेतावनी : अन्य विश्वविद्यालयका कार्यक्रम चलाएको पाइए कारबाही

हिमाल प्रेस ८ मंसिर २०८३ १२:२५ | Tuesday, November 24, 2026
त्रिविको चेतावनी : अन्य विश्वविद्यालयका कार्यक्रम चलाएको पाइए कारबाही घडी भवन, त्रिवि कीर्तिपुर।

काठमाडौँ- त्रिभुवन विश्वविद्यालयले सम्बन्धनप्राप्त क्याम्पस तथा कलेजहरूलाई एउटै परिसरमा अन्य विश्वविद्यालयका शैक्षिक कार्यक्रम सञ्चालन नगरेको स्वघोषणापत्र पेस गर्न निर्देशन दिएको छ।

त्रिवि योजना निर्देशनालयले मंगलबार जारी गरेको अत्यन्त जरुरी सूचनामार्फत कार्यक्रम, विषय, सेक्सन तथा कोटा थपका लागि न्यूनतम मापदण्ड पूरा गरी सूचीकृत भएका सम्बन्धनप्राप्त क्याम्पस तथा कलेजहरूलाई स्वघोषणापत्र पेस गर्न भनेको हो।

त्रिवि कार्यकारी परिषद्को कात्तिक २१ गतेको निर्णयअनुसार सम्बन्धित क्याम्पस तथा कलेजले आफ्नो व्यवस्थापनअन्तर्गत एउटै परिसरमा त्रिविबाहेक अन्य स्वदेशी वा विदेशी विश्वविद्यालयबाट सम्बन्धन प्राप्त शैक्षिक कार्यक्रम सञ्चालन नगरेको व्यहोराको आधिकारिक स्वघोषणापत्र बुझाउनुपर्नेछ।

निर्देशनालयका अनुसार स्वघोषणापत्रमा उल्लेखित विवरण सत्य तथा यथार्थ रहेको र झुटो वा गलत विवरण पेस गरेको अथवा त्रिविको प्रचलित नियमविपरीत शैक्षिक कार्यक्रम सञ्चालन गरेको प्रमाणित भएमा विश्वविद्यालयको नियमअनुसार कारबाही भोग्न मञ्जुर रहेको प्रतिबद्धता पनि उल्लेख गर्नुपर्नेछ।

स्वघोषणापत्र क्याम्पस वा कलेजको आधिकारिक लेटरहेडमा तयार गरी क्याम्पस प्रमुखको हस्ताक्षर र संस्थाको छापसहित प्रमाणित गर्नुपर्नेछ। प्रमाणित स्वघोषणापत्रको स्क्यान गरिएको पीडीएफ प्रति मङ्सिर १५ गतेभित्र selfdeclarationtu2083@gmail.com मा पठाउन निर्देशन दिइएको छ।

त्रिविले सम्बन्धनसम्बन्धी विनियम, २०७३ (संशोधनसहित) को परिच्छेद १३ मा व्यवस्था भएअनुसार त्रिविबाहेक अन्य विश्वविद्यालय, परीक्षा बोर्ड वा परिषद्बाट सम्बन्धन प्राप्त गरी शैक्षिक कार्यक्रम सञ्चालन गर्न नपाइने व्यवस्था रहेको पनि स्मरण गराएको छ।

प्रकाशित: ८ मंसिर २०८३ १२:२५ | Tuesday, November 24, 2026

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

3 × three =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast