काठमाडौँ- त्रिभुवन विश्वविद्यालय (त्रिवि) ले अध्ययन बिदा लिएपछि नियमानुसार सेवामा नफर्किएका शिक्षक तथा कर्मचारीबाट करिब १६ करोड ५० लाख रुपैयाँ असुलउपर गरेको छ।
त्रिवि रजिष्ट्रारको कार्यालयअन्तर्गत कर्मचारी प्रशासन महाशाखाका अनुसार हालसम्म ७५ वटा केसबाट उक्त रकम असुलउपर गरिएको हो।
त्रिविले अध्ययन बिदापछि सेवामा नफर्किएका तथा फर्किएर तोकिएको सेवा अवधि पूरा नगरेका शिक्षक तथा कर्मचारीबाट रकम असुलउपर गर्ने प्रक्रिया अघि बढाएको जनाएको छ।
अध्ययन बिदाका क्रममा विश्वविद्यालयबाट प्राप्त तलब, भत्ता तथा अन्य सुविधामा नियमानुसार हर्जाना समेत जोडेर रकम असुल गर्ने व्यवस्था रहेको त्रिविले जनाएको छ।
विश्वविद्यालयका अनुसार थप केसहरूको हिसाब किताब तयार गर्ने तथा सम्बन्धित अभिलेख खोजी गर्ने काम भइरहेको छ।
उपलब्ध विवरणअनुसार हिसाबकिताब तयार भइसकेका केसमा करिब २१ करोड ५० लाख रुपैयाँ असुल गर्नुपर्ने देखिएको छ।
त्रिविका अनुसार सम्पर्कमा आएका शिक्षक तथा कर्मचारीका व्यक्तिगत अभिलेख खोजी तथा अध्ययन गर्ने काम भइरहेको छ।
उनीहरूबाट विश्वविद्यालयलाई बुझाउनुपर्ने रकम असुलउपर गर्ने प्रक्रिया पनि जारी रहेको छ।
विश्वविद्यालयले अध्ययन बिदा उपभोग गरेपछि नियमअनुसार सेवामा नफर्किएका वा तोकिएको सेवा अवधि पूरा नगरेका शिक्षक तथा कर्मचारीलाई पुस मसान्तभित्र रजिष्ट्रारको कार्यालयमा सम्पर्क गर्न आग्रह गरेको छ।
सम्बन्धित शिक्षक तथा कर्मचारीले studyleave@tu.edu.np मार्फत समेत सम्पर्क गर्न सक्ने त्रिविले जनाएको छ।
तोकिएको अवधिभित्र सम्पर्क नगरेमा विश्वविद्यालयसँग गरिएको कबुलियतनामा तथा प्रचलित विश्वविद्यालय नियमअनुसार कानुनी कारबाही अघि बढाइने त्रिविले जनाएको छ।



