‘प्रदेशको सहकार्यलाई निर्वाचनसम्म लग्न जरूरी छ’

हिमाल प्रेस १७ असोज २०८३ २०:१७ | Saturday, October 3, 2026
‘प्रदेशको सहकार्यलाई निर्वाचनसम्म लग्न जरूरी छ’ फाइल तस्बिर

काठमाडौँ- नेपाली कम्युनिस्ट पार्टी (नेकपा) का संयोजक पुष्पकमल दाहाल ‘प्रचण्ड’ले प्रदेश सरकारमा भइरहेको राजनीतिक सहकार्यलाई स्थानीय निर्वाचनसम्म विस्तार गर्नुपर्ने बताएका छन्।

धुलिखेलमा शनिबार आयोजित एकता बैठक तथा शपथ ग्रहण समारोहमा उनले प्रदेश सरकारको सहकार्यलाई सरकार सञ्चालनमा मात्र सीमित नराखी राजनीतिक तथा वैचारिक रूपमा थप सुदृढ गर्नुपर्नेमा जोड दिए।

‘यो सहकार्यलाई प्रदेश सरकारमा मात्रै होइन, आउने दिनमा सदनभित्रको बहसमा र निर्वाचनसम्म सुदृढ गर्दै लैजानुपर्ने हुन्छ,’ उनले भने।

उनले बदलिँदो राजनीतिक परिस्थितिअनुसार संगठन विस्तारलाई प्राथमिकता दिनुपर्ने बताए। सूचना प्रविधिको प्रयोगमार्फत पार्टीको विचार र संगठन विस्तार गर्न सकिने उल्लेख गर्दै उनले उपलब्ध जनशक्ति, संगठन र क्षमताको प्रभावकारी उपयोग गर्न नेता तथा कार्यकर्तालाई आग्रह गरे।

प्रचण्डले एआईको तीव्र विकासले रोजगारी, मानवीय सोच र सिर्जनशीलतामा पार्नसक्ने प्रभावबारे पनि चर्चा गरे। एआईमा अत्यधिक निर्भर हुँदा मानिसको अध्ययन तथा सोच्ने अभ्यास कमजोर हुनसक्ने र प्रविधिका कारण श्रमिक विस्थापित हुने अवस्था आउनसक्ने उनले बताए।

विश्वका विभिन्न मुलुकले एआईबाट उत्पन्न हुनसक्ने चुनौती सम्बोधन गर्न नीति तथा कार्यक्रम अघि बढाइरहेको उल्लेख गर्दै उनले नेपालमा पनि प्रविधिको विकाससँगै त्यसका सामाजिक प्रभावबारे गम्भीरतापूर्वक सोच्नुपर्ने बताए।

उनले विद्यमान राजनीतिक परिस्थितिबाट निरास नभई अनुशासित र धैर्यतापूर्वक संगठन निर्माणमा लाग्न नेता तथा कार्यकर्तालाई आह्वान गरे।

प्रकाशित: १७ असोज २०८३ २०:१७ | Saturday, October 3, 2026

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

one + two =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast