काठमाडौँ- नेपाली कम्युनिस्ट पार्टी (नेकपा) का सहसंयोजक माधवकुमार नेपालले नेपालको राजनीतिलाई सही दिशामा लैजाने पार्टी नेकपामात्रै भएको बताएका छन्।
शनिबार भक्तपुरमा आयोजित नेकपा जागरण अभियान कार्यक्रममा नेपालले सबैभन्दा बढी आशा कम्युनिस्ट पार्टीले गरेको भन्दै नेपालको राजनीतिलाई सही दिशामा लैजाने पार्टी नेकपामात्रै भएको बताए।
उनले देश, जनता र समाजको चिन्ता रहेको बताउँदै मुलुकलाई रूपान्तरण र परिवर्तन गर्न लाग्नुपर्नेमा जोड दिए।
कम्युनिस्ट पार्टीलाई अघि बढाउने जिम्मेवारी नेकपाको काँधमा रहेको तथा राष्ट्रियता, जनअधिकारको रक्षा, जनसमस्या उजागर र समाज रूपान्तरणमा कम्युनिस्टहरूले भूमिका खेल्नुपर्ने उनले बताए। उनले स्थानीय तहको चूनावको तयारी गर्दा नेकपा नेतृत्वको तीनै तहको सरकारले गरेका कामका बारेका जनतालाई जानकारी गराउनुपर्ने धारणा राखे।
उनले अन्याय, अत्याचार, भेदभाव, पछौटेपन तथा विभिन्न समस्यामा जेलिएका जनताको अभिभावक र आवाज बनेर मुखरित हुनुपर्ने बताए।



