काठमाडौँ- नेपाल प्रिमियर लिग (एनपीएल) तेस्रो संस्करणमा डीआरएस प्रविधि भित्र्याउने तयारी थालिएको छ। खेललाई शूक्ष्मरूपमा परीक्षण गर्न सहयोग पुर्याउने डीआरएस प्रविधि यसपटक भित्र्याउने तयारीमा लागेको क्यानले जनाएको छ। एनपीएलमा निर्णय समीक्षा प्रणाली डीआरएस भित्र्याउन क्यानले प्राविधिक परीक्षण सम्पन्न गरेको छ। क्यान सचिव पारस खड्काका अनुसार दुईवटा प्रविधि प्रदायक कम्पनीहरूसँग टोलीको अपरेसन राखेर प्राविधिक परीक्षण पूरा गरिसकिएको छ।
परीक्षण गरिएको प्रविधिको नतिजा र एक्युरेसीका विषयमा सबै टोलीहरूसँग फिडब्याक लिने काम भइरहेको छ। प्रोडक्सनको अन्तिम टुंगो लागेपछि कुन कम्पनीको डीआरएस प्रविधि प्रयोग गर्ने भन्नेबारे क्यानले निर्णय लिनेछ। परीक्षण गरिएको प्रविधि उपयोगी ठहरिएमा यसै संस्करणदेखि नेपालमा पहिलोपटक डीआरएस लागू गरिनेछ।


