काठमाडौँ- विराटनगर किङ्सले नेपाल प्रिमियर लिग (एनपीएल) को तेस्रो संस्करणका लागि श्रीलंकाका बायाँहाते ब्याटिङ अलराउन्डर चरिथ असलंकालाई अनुबन्ध गरेको छ।
श्रीलंकाली क्रिकेट टोलीका नियमित सदस्य रहेका असलंकाले सन् २०२१ मा इंग्ल्यान्डविरुद्ध एकदिवसीय तथा भारतविरुद्ध टी-२० अन्तर्राष्ट्रिय क्रिकेटमा डेब्यु गरेका थिए। टी-२० डेब्युमै उनले २६ बलमा ४४ रन बनाउँदै प्रभावशाली सुरुआत गरेका थिए।
सन् २०२१ को आईसीसी पुरुष टी-२० विश्वकपमा उनले ६ खेलबाट २३१ रन बनाउँदै श्रीलंकाका लागि सर्वाधिक रन बनाउने ब्याटर बनेका थिए। उक्त प्रतियोगितामा उनले ४६.२० को औसत र १४७.१३ को स्ट्राइक रेटमा ब्याटिङ गरेका थिए।
सन् २०२२ मा अस्ट्रेलियाविरुद्ध पहिलो एकदिवसीय शतक प्रहार गरेपछि असलंका श्रीलंकाको मध्यक्रमका भरपर्दा ब्याटरका रूपमा स्थापित भएका छन्। ब्याटिङसँगै बायाँहाते स्पिन बलिङमार्फत पनि टोलीलाई योगदान दिने क्षमता उनको विशेषता मानिन्छ।
हालसम्म असलंकाले ७७ टी-२० अन्तर्राष्ट्रिय खेलमा १ हजार ४६६ रन बनाउनुका साथै ७ विकेट लिएका छन्। समग्र टी-२० क्रिकेटमा भने उनले १८५ खेलमा ३ हजार ७१५ रन र ३७ विकेट आफ्नो नाममा गरेका छन्।
जुलाई २०२४ मा श्रीलंकाको टी-२० अन्तर्राष्ट्रिय टोलीको कप्तानी सम्हालेका उनले त्यसै महिनाको अन्त्यमा एकदिवसीय टोलीको नेतृत्वको जिम्मेवारी पनि पाएका थिए। सन् २०२४ देखि २०२५ सम्म सीमित ओभरको क्रिकेटमा टोलीको नेतृत्व गर्दै उनले आफ्नो नेतृत्व क्षमता पनि देखाएका छन्।
विराटनगर किङ्सले असलंकाको आगमनले एनपिएलको तेस्रो संस्करणका लागि टोली थप मजबुत हुने विश्वास व्यक्त गरेको छ।


