काठमाडौँ- दशकौँदेखि नेपाली राजनीतिमा एकाधिकार जमाउँदै आएका केपी शर्मा ओली, शेरबहादुर देउवा र पुष्पकमल दाहाल ‘प्रचण्ड’को युग समाप्त पार्दै बनेको बालेन शाह नेतृत्वको दुई-तिहाइ नजिकको सरकार पनि पुरानै ढर्रामा फसेपछि जेनजी (नवपुस्ता) आन्दोलनको साढे एक वर्षमै चरम निराशा छाएको छ।
गत भदौ २३ र २४ गते भ्रष्टाचार एवम् ‘नेपो बेबी’ संस्कृतिविरुद्ध चर्किएको विद्रोह, सुशीला कार्की नेतृत्वको अन्तरिम सरकार र गत फागुन २१ को चुनावमार्फत सत्तामा पुगेको नयाँ शक्तिले भ्रष्टाचारका पुराना सेटिङ भत्काए पनि जनअपेक्षाअनुसार नतिजा दिन नसक्दा हिजो सडक तताउने जेनजी अभियन्ताहरू नै आज आफ्नै सरकारविरुद्ध आक्रोश पोख्न बाध्य भएका छन्।
भ्रष्टाचार, कुशासन, राजनीतिक संरक्षण र नेताका परिवारको प्रभावविरुद्ध गत वर्ष हजारौँ नवयुवा सडकमा उत्रिए। उनीहरूको प्रश्न तत्कालीन सरकारप्रति थिएन, दशकौँदेखि राज्य सञ्चालन गर्दै आएको राजनीतिक पुस्ताप्रति थियो।
भदौ २३ मा शान्तिपूर्ण रूपमा सुरु भएको जेनजी आन्दोलन भदौ २४ मा पुग्दा हिंसात्मक र विध्वंसात्मक बन्यो। राज्यका संरचनामा आगजनी भयो, सार्वजनिक सम्पत्तिमा क्षति पुग्यो र पुरानो राजनीतिक व्यवस्थाप्रतिको आक्रोशले नयाँ राजनीतिक मोड लियो।
नेपालमा त्यसअघि नै ‘सच्चिने कि सक्किने’ बहस चलिरहेको थियो। २०७९ को निर्वाचनले त्यसको प्रारम्भिक संकेत दिइसकेको थियो। लामो समयदेखि सत्तामा रहेका कांग्रेस, एमाले र माओवादीप्रतिको वितृष्णाबीच नयाँ राजनीतिक शक्तिप्रति मतदाताको आकर्षण बढेको थियो।
राजनीतिक विश्लेषक डम्बर खतिवडाका अनुसार त्यसको सबैभन्दा स्पष्ट अभिव्यक्ति राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)को उदय थियो। गठन भएको छ महिना नपुग्दै रास्वपाले प्रतिनिधिसभामा २१ सिट जित्नु सामान्य चुनावी सफलता मात्र थिएन।
‘धेरै धारका राजनीति नेपालमा थिए र छन्। तर जन्म भएको छ महिना नपुगी २१ सिट जितिनु भनेको राजनीति नयाँ धारतिर गएको संकेत थियो,’ खतिवडा भन्छन्।
रास्वपासँगै मधेशमा जनमत पार्टी र पश्चिममा नागरिक उन्मुक्ति पार्टीजस्ता नयाँ शक्ति पनि उदाए। यी दलले भिन्नभिन्न भूगोल र समुदायबाट उल्लेख्य मत पाए। त्यसले एउटा कुरा प्रस्ट गर्यो- मतदाता पुरानै विकल्पमा सीमित रहन चाहँदैनथे।
‘त्यतिबेला देशका सबै भेगका जनता विकल्प खोजिरहेका छन् भन्ने बुझ्न कठिन भएन,’ खतिवडा भन्छन्।
नयाँ शक्तिको उदयले पुराना शक्तिलाई बदलिन बाध्य बनाएन। २०७९ पछि पनि सत्ताको केन्द्रमा उही नेतृत्व, उही शैली र उही राजनीतिक संस्कार कायम रह्यो। सुधारको अपेक्षा पूरा नभएपछि असन्तुष्टि सडकसम्म पुग्यो।
राजनीतिक विश्लेषक डा. विष्णु दाहालका अनुसार जेनजी आन्दोलनको मूलमा नवपुस्ताको राजनीतिक नेतृत्वप्रतिको खोजी थियो।
‘नवपुस्तालाई नयाँपन चाहिएको थियो। आफ्नो नेतृत्व खोजेका थिए,’ उनी भन्छन्।
आन्दोलनले पुराना दल र नेतामाथिको असन्तुष्टिलाई संगठित राजनीतिक भाष्यमा बदलिदियो। पुराना शक्ति भ्रष्ट छन्, उनीहरूबाट देशमा परिवर्तन सम्भव छैन र राज्य सञ्चालनमा नयाँ पुस्तालाई प्राथमिकता दिनुपर्छ भन्ने धारणा बलियो बन्यो।
जेनजी अभियन्ता अमित खनाल ‘ऊर्जा’ का अनुसार आन्दोलनको मनोविज्ञान बुझ्न बालेन शाहको उदयलाई अलग राख्न सकिँदैन। ‘मुख्य कुरा भन्ने हो भने बालेनलाई खोजिएको थियो। उहाँ कता जानुहुन्छ, त्यतै वैकल्पिक शक्ति बन्ने अवस्था थियो,’ उनी भन्छन्।
आन्दोलनअघि नै सामाजिक सञ्जालमा ‘नेपो बेबी’ अर्थात् राजनीतिक परिवारका सन्तानको प्रभाव र पहुँचमाथि प्रश्न उठिरहेको थियो। पुरानो पुस्तासँगै उनीहरूका सन्तानको जीवनशैली, शक्ति-सम्बन्ध र राज्यस्रोतसँगको पहुँचप्रति पनि नवपुस्ताको आक्रोश बढ्दै थियो।
त्यसैले जेनजी आन्दोलन पुरानो राजनीतिक संस्कार हटाएर आफ्नै पुस्ताको नेतृत्व खोज्ने प्रयास पनि थियो।
जेनजी आन्दोलनपछि राजनीतिक समीकरण तीव्र रूपमा फेरियो। राजनीतिबाहिरकी पूर्वप्रधानन्यायाधीश सुशीला कार्की प्रधानमन्त्री बनिन्। त्यसले राजनीतिक दलसँग नवपुस्ताको दूरी कति बढिसकेको थियो भन्ने संकेत गर्यो।
कार्कीको नेतृत्वमा अन्तरिम सरकार बन्यो र त्यसले फागुन २१ गते निर्वाचन गरायो। निर्वाचनले पुरानो राजनीतिक वर्चस्वलाई निर्णायक धक्का दियो। लामो समय कांग्रेस, एमाले र माओवादी केन्द्रको वरिपरि घुमेको राष्ट्रिय राजनीति नयाँ पुस्ताको नाममा रास्वपाको पक्षमा उभियो। पुराना शक्ति खुम्चिए। त्यसपछि बालेन शाह प्रधानमन्त्री बने।
नेपाली राजनीतिमा एउटा युग सकिएको घोषणा जस्तै भयो। केपी शर्मा ओली, शेरबहादुर देउवा र पुष्पकमल दाहाल ‘प्रचण्ड’को लामो राजनीतिक वर्चस्व कमजोर भयो। नयाँ अनुहार, नयाँ दल र नयाँ राजनीतिक भाष्य केन्द्रमा आयो।
डा. दाहालका शब्दमा नवपुस्ता राजनीतिमा ‘माइन्ड चेन्ज’ ल्याउन सफल भयो।
‘चुनावले नयाँ नेता पहिलो पटक दियो। नयाँ पुस्ताको स्प्रिडअनुसार काम गर्ने नेता चाहिएको थियो,’ उनी भन्छन्।
यहींबाट जेनजी आन्दोलनको अर्को प्रश्न सुरु हुन्छ- पुरानालाई विस्थापित गरेपछि नयाँले के दिए?
निर्वाचनपछि बनेको सरकारले झन्डै दुईतिहाइ नजिकको राजनीतिक शक्ति प्राप्त गर्यो। अर्थात्, नयाँ नेतृत्वसँग काम गर्न आवश्यक राजनीतिक आधारको कमी रहेन।
सडकमा पुराना शक्तिविरुद्ध उत्रिएको पुस्ता अहिले नयाँ सरकारकै आलोचक बनेको छ। जेनजी अभियन्ताहरूको गुनासो छ- सरकार फेरियो, अनुहार फेरिए, तर शासन गर्ने शैली पर्याप्त रूपमा फेरिएन। उनीहरू आन्दोलनका माग पूरा नभएको र नयाँ नेतृत्वले अपेक्षाअनुसार परिवर्तनको अनुभूति दिन नसकेको बताउँछन्।
बजारमा उपभोग्य सामग्रीको चरम अभाव र अचाक्ली महँगीले सर्वसाधारणको दैनिकी कष्टकर बन्दै जाँदा पनि सरकार भने पूर्णतः लाचार र गैरजिम्मेवार देखिएको छ। राहतको प्याकेज ल्याएर जनतालाई दिलासा दिनु साटो सरकारका मन्त्रीहरू नै समस्याको पन्छाउदै उद्योगी तथा व्यवसायीलाई धम्क्याउन र तर्साउन तल्लीन छन्।
एकातिर खाद्यन्नसहितका अत्यावश्यक वस्तुको आपूर्ति ठप्पप्रायः हुँदा भान्सा महँगो बनेको छ भने अर्कातिर जिम्मेवार निकायका मन्त्रीहरूबाट आउने गैरजिम्मेवार अभिव्यक्ति र धम्कीले बजार झनै त्रसित र अस्तव्यस्त बन्न पुगेको छ।
यहीँ आएर जेनजी आन्दोलनको सबैभन्दा ठूलो विरोधाभास देखिन्छ। जसले पुरानालाई ‘सक्काए’, तिनैले नयाँलाई पनि प्रश्न गर्न थालेका छन्।
डा. दाहाल भने सरकारका केही कामलाई सकारात्मक रूपमा हेर्छन्। उनका अनुसार पुराना भ्रष्टाचारका कतिपय संरचना र ‘सेटिङ’ भत्काउने काम सुरु भएको छ।
‘पहिलेका सरकारले गरेका सेटिङ तोडिएका छन्। पुराना भ्रष्टाचारका सेटिङ भत्किएका छन्,’ उनी भन्छन्, ‘सुशासन कायम भएको छैन। तर पुराना भ्रष्टाचार भने तोडिए।’
दाहाल सरकारलाई नतिजा देखाउने चरणमा पुगिनसकेको मान्छन्।
‘सुशासन भन्ने कुरा साल्ट ट्रेडिङले नुन दिएजस्तो हुँदैन। बिस्तारै नतिजा देखिँदै जान्छ,’ उनी भन्छन्, ‘अहिले यो झिसमिसेको समय हो। तर यो रात पर्न लाग्दाको झिसमिसे हो वा बिहान हुन लाग्दाको झिसमिसे हो, खुलेको छैन।’



