पश्चिममा अझै दुई दिन भारी वर्षाको जोखिम, बाढीपहिरोबाट सतर्क रहन आग्रह

हिमाल प्रेस ९ असोज २०८३ १३:१४ | Friday, September 25, 2026
पश्चिममा अझै दुई दिन भारी वर्षाको जोखिम, बाढीपहिरोबाट सतर्क रहन आग्रह

काठमाडौँ- देशका पश्चिमी क्षेत्रमा आगामी दुई दिन वर्षाको गतिविधि अझै बढ्ने मौसमविद्ले बताएका छन्। न्यून चापीय प्रणालीको प्रभावका कारण बाढी, पहिरो र डुबानको जोखिमसमेत बढ्न सक्ने भएकाले सतर्कता अपनाउन आग्रह गरिएको छ।

नेपाल मौसम विज्ञान विभागका मौसमविद् राजन लामिछानेका अनुसार बंगालको खाडीमा विकसित न्यून चापीय प्रणालीको प्रभावले देशका अधिकांश भूभागमा वर्षा भइरहेको छ। पछिल्लो २४ घण्टामा कोशी, बागमती, गण्डकी र लुम्बिनी प्रदेशका अधिकांश स्थानमा भारी तथा केही स्थानमा धेरै भारी वर्षा भएको उनले बताए।

उनका अनुसार पाल्पाको अर्चले मौसम मापन केन्द्रमा १४० मिलिमिटरभन्दा बढी वर्षा मापन भएको छ।

पछिल्ला दुई दिनदेखि विभिन्न स्थानमा लगातार वर्षा भइरहेको र कतिपय क्षेत्रमा भारीदेखि धेरै भारी वर्षा भएकाले बाढी तथा पहिरोको जोखिम बढेको लामिछानेले बताए।

उनका अनुसार अहिले न्यून चापीय प्रणाली भारतको छत्तीसगढ र आसपासको क्षेत्रमा रहेको छ। उक्त प्रणाली क्रमशः नेपालतर्फ सर्दै जाने र त्यसको प्रभाव पश्चिमी भूभागतर्फ सर्दै जाने उनले बताए।

‘आज र भोलि विशेषगरी बागमती, गण्डकी, लुम्बिनी, कर्णाली र सुदूरपश्चिम प्रदेशमा वर्षाको गतिविधि बढी हुने देखिएको छ,’ उनले भने, ‘पूर्वी क्षेत्रमा भने क्रमशः वर्षाको गतिविधि घट्दै जाने र मौसममा सुधार आउने सम्भावना छ।’

असोज १० गते शनिबारसम्म न्यून चापीय प्रणालीको प्रभाव पश्चिमतर्फ सर्दै जाने भएकाले लुम्बिनी र सुदूरपश्चिम प्रदेशमा वर्षाको गतिविधि बढ्न सक्ने पूर्वानुमान गरिएको छ।

असोज ११ गते आइतबार पूर्वी क्षेत्रमा मौसममा सुधार आउने सम्भावना रहे पनि पश्चिमी क्षेत्रमा न्यून चापीय प्रणालीको प्रभाव कायमै रहने विभागले जनाएको छ।

असोज १२ गतेदेखि देशभर मौसम क्रमशः सुधार हुने र असोज १३ गतेदेखि वर्षाको प्रभाव अझ कम हुने सम्भावना रहेको विभागको पूर्वानुमान छ।

मौसम प्रणाली निरन्तर परिवर्तन हुनसक्ने भएकाले विभागले अवस्थाको निगरानी गरिरहेको र आवश्यकताअनुसार पूर्वानुमान तथा चेतावनी अद्यावधिक गर्दै जाने लामिछानेले बताए।

भारी वर्षा भइरहेका तथा चेतावनी जारी गरिएका क्षेत्रमा बाढी, पहिरो र डुबानको जोखिमलाई ध्यानमा राख्दै अनावश्यक यात्रा नगर्न र आवश्यक सावधानी अपनाउन उनले आग्रह गरे।

प्रकाशित: ९ असोज २०८३ १३:१४ | Friday, September 25, 2026

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

sixteen + 12 =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast