प्रधानमन्त्री शाहको आग्रह- शुक्रबारदेखि तीन दिन भारी वर्षाको सम्भावना छ,सकेसम्म यात्रा नगर्नुहोस्

हिमाल प्रेस ७ असोज २०८३ १६:२० | Wednesday, September 23, 2026
8
SHARES
प्रधानमन्त्री शाहको आग्रह- शुक्रबारदेखि तीन दिन भारी वर्षाको सम्भावना छ,सकेसम्म यात्रा नगर्नुहोस् प्रधानमन्त्री वालेन्द्र शाह।फाइल तस्बिर

काठमाडौँ- प्रधानमन्त्री वालेन्द्र शाह (बालेन) ले शुक्रबारदेखि आइतबारसम्म देशका विभिन्न स्थानमा भारीदेखि अति भारी वर्षाको सम्भावना रहेकाले सबै नागरिकलाई उच्च सतर्कता अपनाउन आग्रह गरेका छन्। बुधबार सामाजिक सञ्जालमार्फत उनले यस्तो आग्रह गरेका हुन्।

‘मौसम विज्ञान विभागका अनुसार पर्सि असोज ९ गते शुक्रबारदेखि असोज ११ गते आइतबारसम्म देशका विभिन्न स्थानमा मेघगर्जन, चट्याङ, हावाहुरीसहित भारीदेखि अति भारी वर्षाको सम्भावना रहेको छ,’ उनले भने।

प्रधानमन्त्रीका अनुसार गण्डकी र लुम्बिनी प्रदेशका केही स्थानमा भारीदेखि अति भारी वर्षा तथा एक-दुई स्थानमा अति भारी वर्षा हुन सक्ने पूर्वानुमान गरिएको छ। यस्तै, कोशी, बागमती, मधेश, कर्णाली र सुदूरपश्चिम प्रदेशका केही स्थानमा पनि भारीदेखि धेरै भारी वर्षाको सम्भावना रहेको उनले उल्लेख गरेका छन्।

‘गण्डकी प्रदेशको पोखरा आसपास, लुम्बिनीका पहाडी तथा तराई क्षेत्र, कोशीको ताप्लेजुङलगायत हिमाली भूभाग, बागमतीका पहाडी क्षेत्र, कर्णालीको जुम्ला आसपास तथा सुदूरपश्चिमका पहाडी क्षेत्रमा बाढी, पहिरो, डुबान र सडक अवरोधको जोखिम रहेकाले विशेष सतर्क रहन आवश्यक छ,’ उनले भनेका छन्।

बालेनले सम्भावित वर्षाका कारण बाढी, पहिरो, गेग्रान बहाव, डुबान तथा सडक र हवाई यातायातमा समेत अवरोध आउन सक्ने भएकाले आवश्यक सावधानी अपनाउन आग्रह गरेका छन्।

‘पानी परिरहेको समयमा तथा रातिको समयमा सकेसम्म राजमार्गमा यात्रा नगर्नुहोस्,’ उनले भनेका छन्। पहिरो तथा बाढीको जोखिम भएका क्षेत्र, नदी तथा खोलानजिक विशेष सतर्कता अपनाउन पनि आग्रह गरेका छन्।

ट्रेकिङ तथा हिमाली क्षेत्रमा जाने योजना बनाएकाहरूलाई मौसम सुधार नभएसम्म यात्रा स्थगित वा पुनर्विचार गर्न उनले अनुरोध गरेका छन्।

उनले मौसम विज्ञान विभाग र स्थानीय प्रशासनबाट जारी हुने सूचनाहरू नियमित रूपमा हेर्न, आवश्यक अवस्थामा सम्बन्धित निकायको निर्देशन पालना गर्न तथा विपद् जोखिम न्यूनीकरणका लागि सम्बन्धित निकायहरूले आवश्यक तयारी, समन्वय र पूर्वसतर्कता अपनाउनुपर्नेमा जोड दिएका छन्।

‘सम्पूर्ण नागरिक सुरक्षित रहन, सचेत बन्न तथा आवश्यक सावधानी अपनाउन हार्दिक अनुरोध गर्दछु,’ बालेनले भनेका छन्।

प्रधानमन्त्री शाह संयुक्त राष्ट्रसंघको ८१औँ महासभामा भाग लिन अमेरिकामा छन्।

प्रकाशित: ७ असोज २०८३ १६:२० | Wednesday, September 23, 2026

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

twenty − 2 =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast