बाढीमा दिवंगतहरूको सम्झनामा देशभर शान्तिपाठ र प्रार्थना

देवघाट, देवीघाट र पशुपतिमा विशेष अनुष्ठान

हिमाल प्रेस २२ भदौ २०८३ १७:२१ | Monday, September 7, 2026
बाढीमा दिवंगतहरूको सम्झनामा देशभर शान्तिपाठ र प्रार्थना तस्बिर स्रोत : फणीन्द्र पौडेल

काठमाडौँ- भदौ १० गतेको विनाशकारी बाढीमा परी ज्यान गुमाएकाहरूप्रति श्रद्धाञ्जली र शोक व्यक्त गर्दै सोमबार देशभर विविध धार्मिक तथा आध्यात्मिक अनुष्ठानहरू सम्पन्न भएका छन्।

सरकारले घोषणा गरेको राष्ट्रिय शोक दिवसका अवसरमा सरकारी कार्यालयहरूमा राष्ट्रिय झण्डा आधा झुकाइएका बेला धार्मिक क्षेत्रले पनि सामूहिक शान्ति प्रार्थना, पाठपारायण र दीप प्रज्वलन गरी राष्ट्रिय शोक मनाएका हुन्।

तनहुँ र नुवाकोटमा विशेष अनुष्ठान

तनहुँको पवित्र तीर्थस्थल देवघाटधाम तथा नुवाकोटको देवीघाटस्थित त्रिशूली किनारमा बाढीपीडितको सद्गति र शान्तिका लागि विशेष वैदिक कर्म सम्पन्न गरिएको छ। महेश संन्यास गुरुकुलका पीठाधीश श्री १००८ स्वामी रमणानन्द महाराजको आह्वानमा महेश संन्यास आश्रम, महेश संन्यास छात्र परिषद् तथा ॐकार परिवारका विभिन्न संघसंस्थाहरूको आयोजनामा यी कार्यक्रम भएका हुन्।

महेश संन्यास गुरुकुलका प्राचार्य फणीन्द्र पौडेलका अनुसार बढी प्रभावित क्षेत्र नुवाकोटको देवीघाटस्थित त्रिशूली किनारमा बिहानैदेखि वैदिक विधिअनुसार प्रार्थना, पितृसूक्त पाठपारायण र श्रद्धाञ्जली सभा आयोजना गरिएको थियो।

देवघाटधाम।

सोही कर्मको निरन्तरता स्वरूप कालीगण्डकी र त्रिशूलीको संगमस्थल देवघाटधाममा देवघाट क्षेत्र विकास समिति, विभिन्न आश्रम, गुरुकुल र साधकहरूको स्वस्फूर्त सहभागितामा सामूहिक प्रार्थना, दीप प्रज्वलन, विष्णुसहस्रनाम तथा श्रीमद्भगवद्गीता पाठ गरियो। उक्त समारोहमा महेश संन्यास गुरुकुल, वेदवेदांग संस्कृत गुरुकुल, परमानन्द संस्कृत गुरुकुल, गार्गी कन्या गुरुकुल, मा कल्याणी गुरुकुल तथा रामजानकी बालिका आश्रमका छात्र तथा शिक्षकहरू र सर्वसाधारणको उपस्थिति थियो।

प्राचार्य पौडेलले भने, ‘दिवंगतहरूको आत्माको शान्ति, बेपत्ताहरूको शीघ्र खोजी, घाइतेहरूको स्वास्थ्यलाभ र शोकाकुल परिवारमा समवेदना प्रकट गर्दै राष्ट्रमा छाएको शोकबाट शान्ति मिलोस् भन्ने कामनाका साथ हामीले यो अनुष्ठान गरेका हौँ।’

पशुपति तटमा शान्तिपाठ

यसैगरी काठमाडौँस्थित पशुपतिनाथ क्षेत्रको बागमती नदी तटमा पनि दिवंगत मुक्तात्माहरूको सद्गतिको कामना गर्दै सामूहिक अनुष्ठान गरिएको छ। भागवत् संन्यास आश्रम, नेपाल वेद विद्याश्रम गुरुकुललगायत सनातन धर्मानुरागी संस्था तथा गुरुजनहरूको पहलमा उक्त कार्यक्रम सम्पन्न भएको हो।

नेपाल वेद विद्याश्रमका अध्यापक आचार्य विष्णुप्रसाद पोखरेलका अनुसार अनुष्ठानका क्रममा विष्णुसहस्रनाम, श्रीमद्भगवद्गीता तथा शिवस्तोत्र मन्त्र पाठ गरी दिवंगत आत्माहरूको बैकुण्ठबास र रुद्रलोक बासको कामना गरिएको थियो। घाइतेहरूको शीघ्र स्वास्थ्यलाभ, बेपत्ताहरूको खोजी र मुलुकमा शान्ति तथा स्थिरताका लागि पनि सामूहिक प्रार्थना गरिएको पोखरेलले जानकारी दिए।

पशुपतिनाथ।

राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणका अनुसार उक्त बाढीमा परी हालसम्म एक हजार तीन सय ५५ जनाको ज्यान गइसकेको छ भने स्वदेशी तथा विदेशी गरी करिब पाँच हजार मानिस अझै बेपत्ता छन्। आफन्तहरू बेपत्ता रहेका कतिपय परिवारले प्रतिकात्मक रूपमा कुशको शव बनाएर दाहसंस्कारसमेत गरेका छन्।

देवघाटधाम

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

fourteen + 8 =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast